खरका छाना फेर्दै शुक्लाफाँटा

कञ्चनपुर:शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवार कार्यक्रम अन्तर्गत छनोटमा परेका छन ।

गत आवमा छनोटमा परेकामध्ये पहिलो चरणमा एक सय ११ जनाले पहिलो किस्ताको रकम पाएका छन् । दोस्रो किस्ताको रकम ५५ परिवारलाई उपलव्ध गराइएको छ । छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका ८९ परिवारलाई चालु आवमा छाना फेर्न पहिलो किस्ताको रकम उपलव्ध गराउने काम भइरहेको सूचना अधिकारी फुलाराले बताउनुभयो ।

“छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि गत आवमा पहिलो किस्ताका रुपमा रु ३० हजार रकम बैंक खातामा उपलव्ध गरायौं,” उहाँले भन्नुभयो, “छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका परिवारलाई चालु आवमा रकम उपलव्ध गराउने कार्य भइरहेको छ ।” उहाँका अनुसार पहिलो किस्ताको रकम पाएका लाभग्राहीले प्राप्त गरेको रकमबाट छाना बनाउनका लागि रङ्गीन जस्तापाता २६ गेजको र काठ खरिद गर्नुपर्ने छ ।

आवास निर्माण गर्न अधिकतम रु ५० हजारसम्म रकम उपलव्ध गरााउने व्यवस्था छ । रु २० हजार दोस्रो किस्तामा दिईने छ । रकम प्राप्त गरेको तीन महिनाभित्र घर निर्माणको कार्य गरी सक्नुपर्ने प्रावधान छ । आवास निर्माण नगरे स्थानीय तहले सावाँ र ब्याज असूल उपर गर्ने छ ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७७ अनुसार अनुदान उपलव्ध गराउँदा नगरपालिकासँग सम्झौता भएपछि पहिलो किस्ताबापत ६० प्रतिशत रु ३० हजार रकम उपलव्ध गराईने व्यवस्था रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताउनुभयो । “नगरपालिकाका प्राविधिकले कार्यविधिको अनुसूची ३ बमोजिमको प्राविधिक प्रतिवेदनसहित गरेको सिफारिसको आधारमा लाभग्राहीलाई दोस्रो तथा अन्तिम किस्ताबापतको रु २० हजार (चालिस प्रतिशत) अनुदान रकम उपलव्ध गराइने छ ।” उहाँका अनुसार प्राविधिकबाट अनुुसूची तीन बमोजिम प्रतिवेदन पेस भई नगरपालिकाले प्रमाणित गरेपछि निर्माणकार्य सम्पन्न भएको मानिने छ ।

सबै नगरबासीले सुरक्षित आवास पाउने अधिकार रहेकाले सोही अनुसार छाना फेर्ने कार्य भइरहेको नगर प्रमुख रणबहादुर महराले बताउनुभयो । अत्यन्तै जोखिममा रहेका आर्थिक अवस्थाले सुरक्षित आवास निर्माण गर्न नसक्ने परिवारको छनोट गरी छानामा जस्तापाता र काठको व्यवस्था गर्न रकम उपलब्ध गराउने कार्य भइरहेको उहाँको भनाइ छ ।

सुरक्षित आवास निर्माणपछि आगो, हावाहुरी, वर्षा, हिंस्रक जनाबर र सर्प लगायतका विषालु जीवजन्तुबाट विपन्न परिवारले छुटकारा पाउने उहाँको विश्वास छ । नगरपालिका–१० का इन्द्रा दमाइँले घरको छानामा खर राखेर बस्दै आएको बताउनुभयो । नगरपालिकाले जस्तापाता खरिद गर्न रकम उपलव्ध गराउन छनोट गरेपछि सहज रुपमा घरमा बस्न पाइने भएको उहाँको भनाइ थियो । “घरको छाना वर्षातका बेला चुँहिदा सास्ती हन्थ्यो”, उहाँले भन्नुभयो, “आगलागी हुने सम्भावना पनि उत्तिकै थियो, जस्तापाता राख्न लागेपछि सुरक्षित भइएको छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?