बाँके कृषि पर्यटनको गन्तव्य

नेपालगञ्ज:बाँकेको बैजनाथ गाउँपालिकालाई कृषि पर्यटनको गन्तव्यको रुपमा विकास गर्न थालिएको छ । त्यसका लागि उक्त गाउँपालिकामा रहेको गाभर क्षेत्र र मानसरोवरको प्रतिमूर्तिलाई प्राथमिकता राखेर कृषि पर्यटन प्रवद्र्धनको योजना अघि सारिएको छ ।

लुम्विनी प्रदेशसभाका सदस्य रत्न खत्रीले वैजनाथ गाउँपालिका–६ लालपुरस्थित मानसरोवर प्रतिकात्मक उद्यान प्रदेशको गौरवको योजना भएको उल्लेख गर्दै टुक्राटुक्रा अवस्थामा रहेको गाभर भ्यालीलाई एकीकृत गरेर विकास गर्न चक्रपथ निर्माणको काम अघि बढाइएको बताउनुभयो । गाभर क्षेत्रमा सो चक्रपथ निर्माणपछि दृश्वालोकन गरेर पर्यटकले भरपुर आन्नद लिन सक्नेछन् ।

“पर्यटनबाट यस क्षेत्रमा स्थानीयलाई आयआर्जन गर्न सहज अवस्थाको सिर्जना हुनुका साथै यसले यहाँको वास्तविक अवस्थाको पहिचान हुन्छ”, खत्रीले भन्नुभयो ।

वैजनाथ गाउँपालिका–१ चिसापानीका वडाध्यक्ष रुपबहादुर मल्लले गाभर उपत्यकालाई चारतिरबाट समेट्ने गरी करिब १८ किलोमिटर चक्रपथ निर्माणको काम अघि बढेको जानकारी दिनुभयो । उहाँले करिब दुई किलोमिटर क्षेत्रमा ट्र्याक निर्माणको काम बाँकी रहेको उल्लेख गर्दै सडक निर्माणको काम सुरु हुन लागेको बताउनुभयो ।

“यस क्षेत्रको छुट्टै पहिचान छ, यसलाई पर्यटनसँग जोडेर पर्यटकलाई भित्र्याउन सकिन्छ”, उहाँले भन्नुभयो । वडाध्यक्ष मल्लले पहाडी क्षेत्रमा उकालो चढेर माथि गएपछि दृश्यावलोकन गर्न सकिने बताउनुभयो ।

सहरी विकास तथा भवन कार्यालय नेपालगञ्जका अनुसार सो सडक निर्माण अघि बढाउन लुम्विनी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा रु एक करोड बजेट छुट्टाइएको छ । मानसरोबर उद्यानका लागि रु १० लाख मात्रै छुट्टाइएको र अर्को आर्थिक वर्षमा यसलाई प्राथमिकतामा राखिने बताइएको छ ।

गाभरमा सडक निर्माण भएपछि पदयात्राका लागिसमेत महत्वपूर्ण कदम हुने स्थानीय बासिन्दा बताउँछन् । गाभरमा रहेको लायन्स उद्यान तथा होमस्टे र गाभर उपत्यका पछिल्लो समय पर्यटकीय क्षेत्रको रूपमा परिचित छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा केही भाग पर्ने भएकाले निकुञ्जसँग समन्वयको काम अघि बढाइएको छ । कोहलपुर नजिकैको चारैतिरबाट जङ्गल र स–साना पहाडले घेरिएको गाभर रमणीय स्थानको रूपमा रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?