व्यवसायमा प्रोत्साहन गर्दै उत्कृष्ट कृषक पुरस्कृत

रामपुर (पाल्पा):कृषि तथा पशुपन्छीपालनमा उत्कृष्ट कार्य गर्ने कृषकलाई पुरस्कृत गरिएको छ । रामपुर नगरपालिका र निस्दी गाउँपालिका क्षेत्रका ३६ कृषकलाई व्यवसायमा प्रोत्साहन गर्दै पुरस्कृत गरिएको हो ।

रामपुरमा सञ्चालित कृषि मेला प्रदर्शनी, तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा गरिएको प्रदर्शनीमा विभिन्न विधामा उत्कृष्ट कृषक पुरस्कृत भएका छन् । तरकारी बाली, फलफूल बाली, मसला बाली, जरे बाली, पुष्प बाली, खाद्यान्न बाली, व्यावसायिक च्याउ खेती, बोकापालन, बाख्राको खोर व्यवस्थापन, बङ्गुरपालन, गाईभैँसीपालनमा विधा तोकेर उत्कृष्ट कृषकलाई पुरस्कृत तथा सम्मान गरिएको कृषि तथा पशु प्रदर्शनी मेलाका संयोजक सूर्यप्रसाद रेग्मीले बताउनुभयो ।

तरकारी बालीतर्फ उत्कृष्ट गोलभेँडा खेतीमा दुर्गाबहादुर मश्राङ्गी, लौका खेतीमा धनमाया पोखरेल, ब्रोकाउली खेतीमा भगवती देवकोटा र गीता अधिकारी, फलफूलतर्फ उत्कृष्ट केराखेती (जिनाइन जात) सोमबहादुर सेन, स्थानीय केरा खेती हेमबहादुर राना, स्थानीय मेवा थुमकला पाण्डेय, कागती खेती चित्रादेवी देवकोटा उत्कृष्ट हुनुभएको छ ।

मसला बालीतर्फ अदुवा खेतीमा राममाया लामिछाने, बेसार खेतीमा शिवप्रसाद बस्याल, माया पाठक, लसुन खेतीमा घनश्याम देवकोटा, खाद्यान्नतर्फ मकै खेतीमा चित्रादेवी देवकोटा, फापर खेतीमा जगन्नाथ गैरे र बालिकादेवी रेग्मी, च्याउ खेतीमा सेरबहादुर सोती, पुष्प खेतीमा सुकमाया सारु, शान्ति चितौरे, लालबहादुर थापा पुरस्कृत हुनुभएको छ ।

जरे बालीतर्फ मुलाखेती भगवती बस्याल, तरुलखेती घनश्याम बस्याल, गाँजरखेती बन्दना पोखरेल, पिँडालुखेती जिता सार्की उत्कृष्ट भई पुरस्कार प्राप्त गर्नुभएको छ । पशुपालनतर्फ गाईभैँसीपालनमा प्रथम भट्टराई उन्नत गाईफार्म, द्वितीय होलस्टिन गाई तथा भैँसीफार्म, तृतीय चूरामणि कृषि तथा पशुपन्छी कृषिफार्म भएको छ । बङ्गुरपालनमा कृषि तथा पशुपन्छी फार्म उत्कृष्ट हुन सफल भएको कृषि तथा पशुमेला प्रदर्शनी समितिले जनाएको छ । बोकापालनमा प्रथम लिला श्रेष्ठ, द्वितीय नारायण भण्डारी, तृतीय पार्वती मल्ल, सान्त्वना दाजुभाइ सप्लायर्स, बाख्राको खोर व्यवस्थापनमा प्रथम जि एग्रोगट फार्म, द्वितीय निर्मल पशुपन्छी फार्म, द्वितीय कृष्णगण्डकी बाख्रापालन फार्म, सान्त्वना स्थान युवा समृद्धि बाख्राफार्मले पुरस्कार हात पारेको छ ।

कृषि मेला प्रदर्शनीका लागि कृषि ज्ञान केन्द्र पाल्पाले आर्थिक सहयोग गरेको छ । ज्ञान केन्द्रका प्रमुख कामना अधिकारीले कृषकलाई प्रोत्साहन गर्दै व्यावसायीक उत्पादनमा जोड दिने उद्देश्यले प्रदर्शनीमा सहयोग गरिएको बताउनुहुन्छ ।

“कृषि उत्पादन बढाउन र कृषकलाई व्यावसायिक बनाएर आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग पुग्नेछ, कार्यालयले सानादेखि ठूला कृषकलाई विभिन्न विधामा सहयोग गर्दै आइरहेको छ”, उहाँले भन्नुभयो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद रु चार हजार, तीन हजार, दुई हजार र एक हजार पाँच सय साथमा प्रमाणपत्र पुरस्कार प्रदान गरिएको छ । बालीको शुद्धता, रोग किराको अवस्था, बालीको परिपक्वता, स्थानीय बाली, रङका आधारमा कृषकलाई उत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताउनुभयो । यहाँ आयोजना गरिएको कृषि तथा पशु मेलाले कृषकमा हौसला बढाएको जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?