पशु आहारा उत्पादनका लागि उद्योग स्थापना गर्दै पालिका

त्रिवेणी:नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको देवचुली नगरपालिकाले पशु आहारा उत्पादन उद्योग स्थापना गर्न लागेको छ ।

पालिकाले पशुको आहाराका लागि साइलेज (हरियो घाँसलाई सुकाएर पोषणतत्व कायमै रहने गरी तयार पारिने पशु आहारा) उद्योग स्थापना गर्न लागेको हो । नगरपालिकाले पशुका लागि आहारा उत्पादन गरी सहुलियत दरमा किसानलाई प्रदान गर्ने उद्देश्यका साथ साइलेज उद्योग स्थापना गर्न लागेको देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।

नगरपालिकाले आज एक कार्यक्रमकाबीच साइलेज उद्योगको शिलान्यास गरेको छ । नगरपालिकाभित्र पशुपालन गर्ने किसान धेरै रहेको र दाना तथा आहारामा लागत अत्यधिक खर्च हुँदा किसानले अपेक्षा अनुसारको मुनाफा गर्न नसकेका कारण उत्पादनमा हुने लागत घटाउन यो योजना अघि सारिएको नगर प्रमुख न्यौपानेले बताउनुभयो ।

पालिकाले उद्योग स्थापना गरी साइलेज तयार पार्ने र सहुलियत दरमा किसानलाई बिक्री गर्ने योजना रहेको नगर प्रमुख न्यौपानेले बताउनुभयो । “अहिले पशुपालनमा दाना, आहाराको लागत बढ्दा उत्पादन लागत बढेको छ, किसानहरूले उचित नाफा लिन सकेका छैनन्, उत्पादन लागत घटाउँदै, किसानको मुनाफा बढाउन उद्योग स्थापना गर्न लागेका हौँ”, नगर प्रमुख न्यौपानेले भन्नुभयो, “उद्योग स्थापनापछि पशुपालक किसानलाई सहयोग पुग्ने छ ।”

उत्पादन लागत बढ्नु, बजारिकरणमा समस्या हुनु लगायत विविध समस्याका कारण कृषि तथा पशुपालनमा लाग्ने किसान पलायन हुने क्रम बढेकाले यो पेसालाई कसरी जोगाउने भन्ने विषय चुनौती बनेपछि पालिकाले उद्योग स्थापना गर्न लागेको हो ।

उद्योग स्थापनाका लागि पालिकाले योजना बनाएको भए पनि यसको दिगो सञ्चालनका लागि सबै किसानको सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ । “किसानले अहिले पनि विभिन्न ठाउँबाट साइलेज दाना ल्याउने गर्नुभएको छ, अब हामी स्थानीयस्तरमै उत्पादन गर्छौँ, यसले यहाँका किसानलाई लाभ मिल्ने छ” नगर प्रमुख न्यौपानेले भन्नुभयो ।

पालिका आफैले पशु आहारा उत्पादन गरी किसानलाई सहुलियत रुपमा प्रदान गर्ने यो कार्यक्रम देशभरिका पालिकामध्ये देवचुलीमा पहिलो हो । उद्योग सञ्चालनको पहिलो वर्ष किसानलाई निःशुल्क मल र मकैको बीउ उपलब्ध गराइने समेत उहाँले बताउनुभयो ।

नगर उपप्रमुख पार्वता तिवारीले पशुपालक किसानको समस्यालाई बुझेर त्यसको समाधानका लागि उद्योग स्थापना गर्न लागिएको बताउनुभयो । गण्डकी प्रदेश सरकारको नवप्रर्वद्धन कार्यक्रममार्फत किसानका क्षेत्रमा काम गर्ने लक्ष्यका साथ यो योजना अघि बढाइएको उहाँको भनाइ छ ।

नगरपालिका र गण्डकी प्रदेश मुख्यमन्त्री नवप्रवद्र्धन कार्यक्रमको साझेदारीमा पालिकाको रु ६४ लाख र प्रदेश सरकारको रु एक करोड ५० लाख गरी कूल दुई करोड १४ लाखको लागतमा साइलेज उद्योग स्थापना गर्न लागिएको देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीले बताउनुभयो ।

विनियोजित बजेटबाट आवश्यक उपकरण खरिद, उद्योग रहने भवन, भण्डार गृह निर्माणसहित किसानलाई तालिम तथा निःशुल्क मल, बिउ उपलब्ध गराइने उहाँको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?