छाडा गाईको संरक्षणमा जुटेका सुनार

त्रिवेणी:नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–३ का नरबहादुर सुनार स्थानीय छाडा गाईको संरक्षणमा लाग्नुभएको छ । करिब एक दशकअघिदेखि स्थानीय प्रजातिका छाडा गाईको संरक्षणमा लाग्नुभएका सुनारको दिनचर्या गौशालामा रहेका गाईको स्याहारसुसार र रेखदेखमा बित्ने गरेको छ ।

सुनारले विसं २०६८ मा दुईवटा छाडिएको गाई राखेर संरक्षण अभियान सुरु गर्नुभएकामा अहिले गौशालामा ८५ वटा गाई छन् । सुनार एक्लै हाल गौशालामा रहेका ८५ वटा गाईको रेखदेख गर्दै आउनुभएको छ । बजार क्षेत्रमा स्थानीयले छाडारूपमा छाडेका गाई गौशालामा राख्ने गरिएको उहाँले बताउनुभयो । स्थानीय गाईको सङ्ख्या कम हुँदै गएकाले समेत यसको संरक्षण गर्नुपर्छ भनेर आफू लागेको उहाँले बताउनुभयो ।

सुरुमा आफू एक्लैले पहल गरेको भए पनि हाल स्थानीयस्तरमा यसको संरक्षणमा आवश्यक सहयोग हुने गरेको सुनारले बताउनुभयो । दानाका लागि चापट, पराल स्थानीयस्तरमा सहयोग हुने गरेको उहाँले बताउनुभयो । “सुरुमा एक्लै लागे, गाई पनि थोरै थिए, अहिले गाई धेरै भएका छन्, सहयोगी दाताले दाना, परालका लागि बेला–बेलामा सहयोग गर्ने गर्नुभएको छ”, सुनारले भन्नुभयो ।

धार्मिक दृष्टिकोणबाट गाईको महत्व हुने र स्थानीय जातको गाई लोप हुँदै जान थालेपछि यसको संरक्षण गर्नुपर्छ भनेर अभियान संरक्षण सुरु गरिएको उहाँले बताउनुभयो । विश्वमाता गौशालाका रूपमा हाल छाडा गाईको संरक्षण गर्ने गरिएको छ ।

गाई संरक्षण गर्दा कृषिका लागि समेत लाभ मिल्ने सुनारले बताउनुभयो । प्राङ्गारिक मल उत्पादन हुने हुँदा यसको प्रयोगले कृषि उत्पादन बढाउन सकिने हुँदा गाई संरक्षण कृषिका लागि समेत लाभदायक हुने उहाँले बताउनुभयो । “प्राङ्गारिक मलको अभाव हुँदा विभन्न अन्य रासायनिक मल प्रयोग गर्ने चलन छ, यसले माटोलाई बिगार्दै जाँदा क्रमशः उत्पादनमा ह्रास आउँछ, यस कारण पनि गाई पाल्नु कृषिका लागि लाभकारी छ”, सुनारले भन्नुभयो ।

गौशालामा उत्पादन भएको प्राङगारिक मल कृषकले लैजाने गरको उहाँले बताउनुभयो । “हामीले मल बिक्री गर्दैनाँै तर कृषकले पराल ल्याउनुहन्ुछ, सोहीअनुसार मल लैजाने गर्नुहुन्छ, कृषि उत्पादन बढाउन समेत यसले सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

धार्मिक दृष्टिले समेत गाईको महत्व रहेकाले गौशाला निर्माण गरी संरक्षण हुँदा बजार क्षेत्रका बासिन्दालाई लाभसमेत मिलेको सुनारले बताउनुभयो । तिहारको समयमा कावासोतीको बजार क्षेत्रमा घरमा गाई नहुनेले पूजाआजाका लागि गौशालामा आउने गर्दा सो समयमा ठूलो भीड लाग्ने गरेको उहाँको भनाइ छ । कृषिदेखि धार्मिक प्रयोजन दुवैका लागि गाई पाल्नु उचित ठानेरै आफूले संरक्षणलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।

छाडा गाईले बजार क्षेत्रमा दुर्घटनाको जोखिम हुने, बालीनाली नष्ट गर्ने गरेकामा त्यस्ता गाईलाई गौशालामा राख्दा एकातर्फ दुर्घटनाको जोखिम कम हुने, बालीनालीमा क्षति नहुने अर्कोतर्फ छाडा गाईको संरक्षणसमेत हुने कावासोती–३ का वडाध्यक्ष डोरमान गिरीले बताउनुभयो । गाईको संरक्षण गर्नु राम्रो भएकाले गौशाला थप व्यवस्थित गरी सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

गाईको सङ्ख्या बढ्दै जाँदा चरनको अभाव हुँदा समस्या हुने गरेको सुनारको भनाइ छ । गाईका लागि दाना, परालको समस्या हुने गरेको उहाँले बताउनुभयो । बेला–बेलामा विभिन्न सहयोगीले दाना, चापट, पराल सहयोग गर्ने गरेकाले केही राहत भने मिलेको सुनारले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?