मौसमी तरकारीको उत्पादन न्यून हुँदा आयातित तरकारीको मूल्य बढ्यो

कृषि तथा पशुपालन व्यवसाय

उदयपुर:हरियो तरकारी उत्पादनका उदयपुर लागि उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीहरु उत्पादन घटदा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ, भएको तरकारीको आयात बढ्न थालेकोे छ ।

फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भइएको उपभोक्ताहरु बताउँछन् ।

केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयात गरिएका महँगा सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उहाँ भन्नुहुन्छ “स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरुले बाहिरबाट विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरु खरिद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौँ ।”

भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरु सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरिद गर्नुपरेको छ ।
दश दिनअघिसम्म प्रतिकिलो काउली रु ४० देखि ५० मा खरिद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रु एक सयदेखि एक सय २५ पुगेकोे गाईघाट सङ्गमटोल निवासी देवकी थापा बताउनुहुन्छ ।

प्रतिकिलो मूला रु ५० देखि ६० रहेकामा एक हप्तापछि रु एक सय प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढीले वृद्धि हुनाका साथै बासी, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।
गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्नुहुन्छ “फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरु खरिद गरेर सस्तो मूल्यमा बिक्री गरियो अब जिल्लाभित्र उत्पादन भएको तरकारीहरु सकियो, जिल्ला बाहिरबाट सब्जी खरिद गरेर ल्याउँदा बढी मूल्य तिनुपरेकाले बिक्री गर्दा बढी मूल्य लिन बाध्य भएका छौँ ।”

आफूहरुले सब्जी तरकारी खरिद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउन पर्दा र खरिद गरिएका स्थानहरुमा नै बासी सब्जीहरु पाइने गरेकाले ताजा सब्जी बिक्री गर्न नसकिएको सब्जी व्यापारीहरु बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले हिउँदे तरकारी पाँच सय ६८ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ भने बर्खे तरकारी सात सय ४६ हेक्टर जमिनमा उत्पादन हुने गरेको छ ।

जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रमा तरकारी खेती हुँदै आएको र त्यहाँका क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि अझै पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन ।

कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नु परेको बताउनुहुन्छ । अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिन्डी जिल्ला बाहिरबाट आयात हुने गरेको एक सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?