खुदी खोलामा दुई झोलुङ्गे पुल निर्माण गरिने

गण्डकी:पोखरा महानगरपालिका–३२ स्थित खुदी खोलमा दुई झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पुरानो गाउँको चौताराको पूर्वी किनारादेखि राजाको चैताराको युनिभर्स चोक तथा सोही वडाकै बाह्रसय चौतारादेखि पूर्वी किनाराबाट मालमुलघारीसम्म जोड्ने दुई झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो ।

लामो समयसम्म खुदी खोलामाथि पुल नहुँदा १० मिनेटको बाटोका लागि एक घण्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था छ । पुल निर्माणको प्रक्रियाले यस क्षेत्रको समृद्धि र विकासको आशा जगाएको हो । पुल नहुँदा गगनगौडा क्षेत्रबाट आफ्नै वडा नं ३२ को कार्यालयसम्म पुग्न सर्वसाधारणलाई समस्या भइरहेकामा अब पुल बनेपछि सहज हुने नवीन टोल विकास संस्थाका संस्थापक अध्यक्ष मुकुन्द घिमिरेले बताउनुभयो ।

तल्लो गगनगौँडा क्षेत्रका बासिन्दा पुल नहुँदा वडा कार्यालयसम्म पुग्न करिब एक घण्टा हिँड्नुपर्ने बाध्यता थियो । पुल निर्माणपछि १० मिनेटमै पुग्न सकिने छ । कृषिजन्य उत्पादनका लागि तल्लो गगनगौडा, राजाचौतारा, मालमुल, देउरालीलगायत स्थान अब्बल मान्निछन् ।

बाह्रसय चौतारातर्फ पुल निर्माणस्थल रहेको क्षेत्र स्यालतहरामा गण्डकी प्रदेश सरकारले स्थापना गर्न लागेको गण्डकी विश्वविद्यालयले पनि आफ्ना शैक्षिक कार्यक्रम सुरु गर्न लागेका अवस्थामा गगनगौँडा क्षेत्रबाट अध्ययनका लागि जाने विद्यार्थीका लागि पुल अपरिहार्य भएको घिमिरेको भनाइ छ ।

पुल बनेपछि यस क्षेत्रमा उत्पादित वस्तु बिक्री वितरणका लागि सहज हुनेछ । तल्लो गगनगौँडा हुँदै पोखरा–काठमाडौँ जोड्ने पृथ्वी राजमार्ग गएको हुँदा पनि यस क्षेत्रका कृषिजन्य उत्पादनको सहज बजारीकरणका लागि पुल आवश्यक भएको समाजसेवी खेमराज अधिकारीको भनाइ छ ।

यस क्षेत्रमा तनहुँको साविक थप्रेक गाविसलगायत विभिन्न स्थानबाट बसाई सरेर आउनेको सङ्ख्या अत्यधिक छ । पुरानो गाउँको चौतरादेखि युनिभर्स चोक जोड्ने पुलले पृथ्वी राजमार्गसँग रुपा तथा लमजुङवासीलाई सजिलो हुनेछ । तल्लो गगनगौँडाको लामे आहाल क्षेत्रमा निर्माण गर्ने भनिएको प्रदेश क्षेत्रीय बसपार्कका साथै भरतपोखरीको पुडिटारमा निर्माण गर्ने भनिएको प्रदेश औद्योगिक क्षेत्रसँग राजाचौतारा, मालमूल, बडहरे, सातमुहाने, डाँडा गाउँ, ढोडबेँसी, देउरालीलगायत स्थानको सीधा र सहज सम्पर्कका लागि पनि पुल आवश्यक भएको स्थानीयले बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?