किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम

कुहिने फोहर

गोरखा:गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएको छ । गाउँपालिकाले वडा नम्बर ६ स्थित डाँडाथोकमा किसानलाई जैविक मल बनाउने तालिम दिएको गाउँपालिका कृषि शाखाका प्रमुख रोजिना मग्रातीले जानकारी दिनुभयो ।

“सहकारी संस्थामा आबद्ध रहेका ४० जना किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने सिकाइएको हो”, उहाँले भन्नुभयो, “रासायनिक मलको अत्यधिक प्रयोग माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”

प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा समेत हानी नपुग्ने भएकाले गाउँपालिकाभित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिँदै आएको मग्रातीले बताउनुभयो । गाउँपालिकाले ‘रासायनिक मललाई नियन्त्रण गरौ, जैविक र प्राङ्गारिक मलको प्रयोग गराँै स्वास्थ्य बनौँ’, भन्ने नारासहित वडावडामा पुगेर किसानलाई तालिम दिँदै आएको हो ।

चालु आर्थिक वर्षभित्रमा गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ किसानलाई प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम प्रदान गरिसकेको उहाँले जानकारी दिनुभयो । सहभागीलाई सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराउने गरिएकाले किसानका लागि तालिम प्रभावकारी भएको मग्रातीको भनाइ छ ।

रासायनिक मलको अभाव भोग्दै आएका किसान टोलटोलमा पुगेर गाउँपालिकाले प्राङ्गारिक तथा जैविक मल बनाउने तालिम दिएपछि खुसी भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?