सिक्टाको पानी नियमित नहुँदा किसान निराश

राँझा:सिक्टा सिँचाइको पानी नियमित हुन नसक्दा बाँकेका किसान निराश भएका छन् । सिक्टाको पानीको भरमा चैते धानखेती गर्दै आएका कोहलपुर नगरपालिका–१५ पर्सेनीपुरका किसानले यस वर्ष खेती गर्न पाएनन् ।

घर नजिकैको किरण नालामा सिक्टाको पानी आउन थालेपछि विगतका वर्षमा चैते धानखेती गरे पनि यस वर्ष पानी नियमित हुन नसक्दा खेती नगरिएको स्थानीय कृषक ज्ञानबहादुर नेपालले बताउनुभयो । लामो समयदेखि कृषि पेसामा आबद्ध नेपालले सिक्टाको नहर घर नजिकै पुगेपछि अन्य किसानलाई सिकाइ हुने भन्दै चैते धानको खेती गर्नुभएको थियो ।

“पानीको भरोसा भएन, कहिलेकाहीँ छाड्ने पानीमा भर पर्न सकिएन”, कृषक नेपालले भन्नुभयो, “विगतमा चैते धान लगाउन सकिन्छ भनेर यहाँका किसानलाई जानकारी गराइयो, यस वर्ष नहरमा नियमित पानी नआएपछि धानखेती गर्न सकिएन ।”

सिक्टाको पानी नियमित हुँदा किसानले एकवर्षमै सुरुमा वर्षे धान, त्यसपछि हिउँदमा मसुरो हुँदै चैतमा चैते धानखेती गरी तीन बाली स्याहार्ने गरेका थिए । नहरमा पानी नियमित हुँदा खेती किसानी गर्दै आएका किसान निराश हुन पुगेको कोहलपुर–१५ का वडाध्यक्ष दीपेन्द्र चौधरीले बताउनुभयो ।

सिक्टा सिँचाइ आयोजनाले चैते धान रोपाइँलाई ध्यानमा राखी विगतमा पश्चिमी मूल नहर र पू्र्वी नहरबाट पानी सञ्चालन गरेपछि किसानको खेत सिञ्चित हुँदै आएको थियो । नहर सञ्चालन कार्यतालिका अनुसार पश्चिमी र पू्र्वी मूल नहरमा पानी छाडिएको आयोजनाका सूचना अधिकृत विशाल यादवले बताउनुभयो ।

उहाँका अनुसार कार्यतालिका अनुसार हिउँदे बालीका लागि फागुन १६ गतेदेखि १० दिन पानी छाडिएको छ । उहाँका अनुसार मूल नहरमा भत्केको प्यानल बनाउने, सफा गर्ने लगायतको काम भइरहेकाले नियमितरुपमा पानी सञ्चालन हुन सकेको छैन ।

सिक्टा सिँचाइ आयोजना नेपाल सरकारले आफ्नै स्रोतमा २०६३ माघदेखि निर्माण सुरु गरेको नेपालकै सबैभन्दा ठूलो सिँचाइ आयोजना हो । निर्माणाधीन आयोजनाको ४५ दशमलव २५ किलोमिटर लामो पश्चिमी र ५३ किलोमिटर पूर्वी नहरबाट बाँकेका ४२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने उद्देश्य छ । आयोजनाको मूल नहर सँगसँगै शाखा र उपशाखा नहर निर्माणको काम अझै सकिएको छैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments