सुपारी र कुखुराको अवैध आयात रोक्न माग

रानीखेत रोगले मर्न थाले कुखुरा

झापा:अवैधरुपमा भारतबाट भित्रिने कुखुरा र तेस्रो मुलुकबाट आयातित सुपारीले स्वदेशी उत्पादनको बजार धराशायी बनाएको स्थानीय व्यवसायीले बताएका छन् ।

जिल्ला कुखुरा व्यवसायी सङ्घ झापाका अध्यक्ष विवेक निरौलाले खुकुलो सीमाको फाइदा उठाउँदै भारतबाट अवैध ढङ्गले भित्रिरहेको कुखुरा, मासु र अण्डा नरोक्ने हो भने स्वदेशी पोल्ट्री व्यवसाय बन्द हुने र फार्म सञ्चालक ऋण तिर्न नसक्ने बताउनुभयो । उहाँका अनुसार झापाको एक सय ४४ किलोमिटर सीमा क्षेत्रबाट दैनिक चार हजार किलोभन्दा बढी मासु, जिउँदो कुखुरा र अण्डा अवैधरुपमा भित्रिरहेको छ । यसबाट वार्षिक रु ५० करोडभन्दा बढी रकम अनाधिकृत ढङ्गले विदेश गइरहेको छ ।

“दुई खर्बभन्दा बढी लगानी र कूल गार्हस्थ्य उत्पादनमा चार प्रतिशत योगदान दिइरहेको पोल्ट्री व्यवसायबाट लाखौँले रोजगारी पाइरहेका छन्”, निरौलाले भन्नुभयो, “आत्मनिर्भर एउटा मात्र कृषि उद्योगको रुपमा रहेको यसलाई जोगाउन अवैध आयात कडाइका साथ रोक्न राज्यले सहयोगी भूमिका निर्वाह गर्नुपर्छ ।”

मुलुकमै सबैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको पहिचान बनाएको झापामा तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्वदेशी सुपारीले बजार र उचित मूल्य पाउन नसकेको व्यवसायीको गुनासो छ । सुपारी कृषक नीलकण्ठ तिवारीले विदेशबाट डलरमा किनेर भारतमा तस्करी गर्ने उद्देश्यले सुपारीको आयात गर्न कार्य तत्काल रोक्न माग गर्नुभयो । विदेशी सुपारीका व्यापारीले स्थानीय किसानले उत्पादन गरेको सुपारीले निर्यातको कोटा हडपेकोे आरोप लगाउनुभयो ।

“किसानले बाहुनडाँगीमा फलाएको स्थानीय सुपारी काँकरभिट्टामा बेच्न ल्याउँदा प्रहरीले पक्रिएर दुःख दिने गरेको छ”, उहाँले स्थानीय सुपारीको व्यापारमा सरकार नरम हुनुपर्ने माग गर्दै भन्नुभयो, “स्वदेशकै उत्पादनले पुग्दो छ भने किन विदेशबाट सुपारी आयात गर्ने ?” नेपालमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुने गरेको र सिङ्गापुरलगायतका तेस्रो मुलुकबाट २५ हजार मेट्रिक टन सुपारी आयात हुने गरेको उहाँले बताउनुभयो । तेस्रो मुलुकबाट डलर खर्चेर हुने गरेको आयातलाई उहाँले ‘सुन दिएर घुन ल्याउने गरेको’ टिप्पणी गर्नुभयो ।

कोशी प्रदेशका प्रदेशसभा सदस्य गोपाल तामाङले सीमित व्यापारीको सुपारी र मासुको धन्धाले गर्दा हजारौँ किसानको स्वदेशी उत्पादन बर्बाद हुने अवस्था आउन नदिन राज्यले बेलैमा सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । मेची मासु उत्पादक सहकारी संस्थाका अध्यक्ष भगीरथ राईले केही धनधावालले भारतबाट मरेका कुखुरासमेत लुकीछिपी ल्याएर सीमावर्ती बजारमा बेच्ने गरेको उल्लेख गर्दै यसबाट वैधानिक र स्वच्छ व्यवसाय गर्ने बदनाम भइरहेको बताउनुभयो ।

खुला सीमाका कारण सीमित सुरक्षाकर्मीले मात्र सीमामा हुने अवैध धन्धा निमिट्यान्न बनाउन सम्भव नहुने प्रहरी उपरीक्षक दुर्गा रेग्मीको भनाइ छ । सचेत नागरिक, व्यवसायी र जनप्रतिनिधिबाट रचनात्मक सहयोगको खाँचो रहेको उहाँ बताउनुहुन्छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले कुखुराको मासु, अण्डा र जिउँदो कुखुरा भारतबाट आयात गर्न प्रतिबन्ध रहेकाले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?