आलुको पहाड निर्माणका लागि आलु सङ्कलन हुँदै

गण्डकी: विष्णु पादुका क्लब पोखरा महानगरपालिका–२५ हेमजाको आयोजनामा हुने ११ औँ राष्ट्रिय हेमजा आलु महोत्सवको आकर्षण आलुको पहाड निर्माणार्थ आलु सङ्कलन भइरहेको छ ।

यही चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा निर्माण गरिने आलुको पहाडका लागि आलु सङ्कलन भइरहेको कृषक परिचालन उपसमिति संयोजक जयराम तिमिल्सिनाले जानकारी दिनुभयो । हालसम्म ५० केजीको पाँच सय ५० बोरा आलु सङ्कलन भइसकेको जानकारी दिँदै उहाँले अब ५० बोरा सङ्कलन गर्न बाँकी रहेको बताउनुभयो ।

हेमजामा आलुको उत्पादन घटेको भए पनि महोत्सवका लागि यहाँको आलुले पुग्ने उल्लेख गर्दै उहाँले बाहिरी आलु ल्याएर महोत्सव गर्न लागिएको भन्ने हल्लाको पछि नलाग्न आग्रह गर्नुभयो । आलुका साथै अन्य तरकारी बिक्री स्टल राख्नुपर्ने उहाँको भनाइ छ ।

महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भइरहेको महासचिव वसन्तकुमार श्रेष्ठले बताउनुभयो । कृषि महाशाखाको पहलमा कृषि विशेषज्ञ र कृषकबीच कृषि साझा सवाल आयोजना गरिने जानकारी दिँदै उहाँले महोत्सवका लागि विभिन्न कृषि निकायसँग समन्वय भइरहेको र आलुका साथै रैथाने बालीको प्रदर्शन गरिने बताउनुभयो ।

महोत्सवको समायावधि नजिक आइरहँदा बुधबारसम्म स्टल निर्माणसँगै बुकिङ भइरहेको स्टल तथा रेष्टुराँ उपसमिति संयोजक राजेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार केही कृषि तथा रेष्टुराँका स्टल बुकिङ भइसकेको छ ।

‘सुन्दर ठाउँ हेमजा जाऊँः आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ गर्न लागिएको महोत्सवको आकर्षणमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको ठूलो पहाड निर्माण, आलुका विभिन्न परिकार, विविध सांस्कृतिक कार्यक्रम, राष्ट्रियस्तरको कृषि दोहोरी गीत प्रतियोगिता, कृषि झाँकी प्रतियोगिता आदि हुने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?