उखुखेती प्रवद्र्धन गर्दै रामपुरका युवा

रामपुर (पाल्पा):उखुुखेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन् । यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन् । रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवद्र्धन गर्ने उद्देश्यले उखुखेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो, “पहिला उखुले भरिने बारी अहिले बाँझिन पुगेका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखुखेतीलाई प्रवद्र्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ ।” यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन् । रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयातदर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउनुहुन्छ । उहाँ वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्कनुभएको हो ।

“विदेशमा अर्काको अधिनमा रहेर दैनिक १२ देखि १५ घन्टा काम गर्नुपर्ने, अरुको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घन्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी करिडोर सडकखण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन् । यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै करिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पिताम्बर गौतमले जानकारी दिनुभयो । उहाँ पनि वैदेशिक रोजगारको अनुभवपश्चात गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हालेमालो गरेर अगाडि बढ्दै हुनुहुन्छ ।

सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना छ । गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन् । हिजो हाम्रा बाउबाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखुखेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताउनुहुन्छ ।

रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठूलो परिमाणमा खुदो आयात भइरहेको छ । चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ । बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढावा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ । रामपुरमा मात्रै वार्षिकरूपमा करिब रु ५० लाख बराबरको खुदो भित्रिने गरेको पाइएको छ ।

अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताउनुभयो । हाललाई करिब रु दुई लाखको लगानी बीउबिजन, मलजलमा खर्च भएको छ ।

व्यावसायीक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताउनुभयो ।

“पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अतिआवश्यक रहेको छ”, उहाँले भन्नुभयो, “उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन् ।”

राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ । वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?