आधुनिक प्रविधिले घटायो गहुँखेतीमा लागत

अत्तरिया:कैलालीको कैलारी गाउँपालिका–८ पृथ्वीपुरका किसान विहारी चौधरी ११ कट्ठामा गहुँखेती गर्नुहुन्छ । उक्त जमिनमा गहुँखेती गर्दा रु ११ हजार लाग्ने गरेकामा यसपालि लागत भने घटेको छ ।

गहुँ खेतीमा जिरो टिलेज प्रविधि प्रयोग गरिएकाले यसपालि रु पाँच हजार मात्र खर्च हुनाका साथै मेहनत कम र काम पनि छिटो सकिएको उहाँले बताउनुभयो । “सामान्यतया गहुँखेती गर्दा तीन पटक जोत्नुर्पछ”, कृषक चौधरीले भन्नुभयो, “तर अहिले जिरो टिलेज प्रविधिमा मेहनत कम र समय पनि बचत भएको छ ।”

गहुँका बाला पनि राम्रो भएकाले विगतको भन्दा राम्रो उत्पादन हुने अनुमान गर्दै उहाँले आधुनिक प्रविधि आए पनि एक जनाले मात्र सञ्चालन गर्न सम्भव नभएको बताउनुभयो । “प्रविधि राम्रो छ तर एक जनाले मात्र काम गर्नु सम्भव देखिँदैन,” कृषक चौधरीले भन्नुभयो, “त्यसका लागि समूहगतरुपमा काम गर्नु आवश्यक देखिन्छ । ट्र्याक्टरसँगै सिडड्रिल आश्यक पर्ने हुँदा साना किसानहरूको एकल लगानी भने असम्भव हुन्छ ।”

जिरो टिलेज प्रविधिबाट लगाएको गुहँ देखेर अन्य किसान पनि उत्साहित भएको कैलारी गाउँपालिका–८ का अर्का किसान सानुराम चौधरीले बताउनुभयो । जिरो टिलेज ९बिना खनजोत० बाट गरिएको गहुँ खेतीले आफूहरूलाई धेरै सहज भएको उहाँको भनाइ थियो । “पहिलो पटक बारीमा खनजोत नगरेर नै गहुँ लगाइएको छ”, सानुरामले भन्नुभयो, “गहुँको बोट हेर्दा फसल राम्रो हुने देखिन्छ ।”

“बाइस कट्ठा जमिनमा पहिलो पटक टिलेज प्रविधिबाट गहुँ खेती गरिएको छ”, उहाँले भन्नुभयो, “सामान्य तरिकाले गरिने गहुँ खेतीभन्दा यस प्रविधिबाट गरिने खेतीमा आधाभन्दा पनि कम लागत लागेको छ ।” उपकरण महँगो भएको हुँदा एकल लगानी असम्भव भएको उहाँले बताउनुभयो । ट्र्याक्टर र सिडड्रिल गरी रु २० लाखभन्दा बढी लाग्ने हुँदा समूहगतरुपमा काम गर्नुपर्नेमा सानुरामले पनि जोड दिनुभयोे ।

थोरै श्रमशक्तिमा धेरै आम्दानी गर्न सकिने भएकाले खेतीपातीमा कृषि यान्त्रीकरणको प्रयोग गर्नुपर्नेमा अर्का किसान अजित चौधरीले बताउनुभयो । “थोरै श्रमशक्तिमा धेरै आम्दानी त छँदैछ किसानलाई झन्झट पनि कम हुन्छ”, उहाँले भन्नुभयो, “दस दिन लगाएर गरिने गहुँ खेती एक घण्टामै सकिन्छ । ८० प्रतिशत श्रमशक्ति पनि बचत हुन्छ ।”

खेतबारी जोत्न सजिलो मात्र नभई छिटो पनि हुने भएकाले कृषि क्षेत्रमा उपकरणको प्रयोगमा यहाँका किसान आकर्षित भएका हुन् ।
जिल्लाको सबैभन्दा बढी गहुँ खेती हुने क्षेत्र कैलारी गाउँपालिकामा प्रदर्शनीका रूपमा झण्डै तीन बिघा क्षेत्रफलमा जिरो टिलेज प्रविधिबाट खेती गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका शाखाप्रमुख गोविन्दराज जोशीले बताउनुभयो । परम्परागत छरुवा विधिको तुलनामा लागत खर्च निकै कम आउने, सिँचाइ गर्दा पानी कम लाग्ने र उत्पादन राम्रो हुने उहाँको भनाइ थियो ।

“यस प्रविधिबाट सिडड्रिल मेसिनको सहायताले गहुँ र मल एकैनासले लाइनमा पर्ने गरी छर्नुपर्छ। उम्रेका गहुँका बोटले राम्ररी मल पाउने भएकाले एउटै बिरुवामा गाँज राम्रो आउँछ”, शाखाप्रमुख जोशीले भन्नुभयो ।

छरुवा प्रविधिमा गरिएको खेतीमा बढी पानी भए बोट पहेलो भई मर्ने र कम उत्पादन दिने समस्या हुन्छ तर यस प्रविधिबाट त्यो समस्या नहुने उहाँले बताउनुभयो । हिउँदमा बढी चिस्यान हुँदा बाँझो रहने खेतको सदुपयोग गर्दै यस प्रविधिबाट गहुँखेती गरी बढी प्रतिफल हासिल गर्न सकिने र झारपात तथा रोग कीराको प्रकोपसमेत बढी नहुने शाखाप्रमुख जोशीको भनाइ थियो । कार्यालयले जिरो टिलेज प्रविधिमा गहुँ खेती गर्ने किसानलाई अनुदानमा उन्नत जातको गहुँको बीउ र मल सहयोग उपलब्ध गराएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?