इबिए दुईका कार्यक्रमले अछामका किसानलाई सहज
अछाम:सुदूरपश्चिमको पहाडी जिल्ला अछाममा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबिए)द्वारा सञ्चालन भएका कार्यक्रमले यहाँका किसानलाई सहज भएको छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाको आयोजना र डिभिजन वन कार्यालय अछामको समन्वयमा यहाँका बिभिन्न पालिकामा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन (इबिए)ले रिचार्ज पोखरी, आलुको बीउ वितरणलगायतका अन्य विभिन्न तरकारी खेती उत्पादनमा सहयोग लगायतका काम गर्न थालेपछि किसानलाई निकै सहज भएको स्थानीय दिनेश केसीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पानीको समस्या हुँदा किसानलाई तरकारीलगायतका खेती गर्नमा समस्या थियो, इबिएले रिचार्ज पोखरीदेखि तरकारकारीका बीउ वितरण गर्नुका साथै कृषि क्षेत्रमा काम गर्न सहयोग गर्न थालेपछि किसानलाई सहज भएको छ ।”
यसै सिलसिलामा रु पाँच लाखको लागतमा अछामको साँफेबगर नगरपालिका–१३ बाब्लास्थित पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए)ले रिचार्ज पोखरीसमेत निर्माण गर्दा अहिले उक्त क्षेत्रका कम्तीमा तीन सय घरधुरीका किसानका लागि पानीको सहज व्यवस्थापन हुँदै आएको स्थानीय कमलबहादुर कुँवरले जानकारी दिनुभयो ।
विगतका समयमा पानी नभएका कारण सुक्खा रहेका यहाँका डाँडाकाँडा पछिल्लो समय इबिएले रिचार्ज पोखरीदेखि विभिन्न कृषि क्षेत्रमा सहयोग गरेपछि अहिले हरियाली बन्दै गएको रामारोशन गाउँपालिका–१ रिसिदहका हर्कबहादुर क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा हामी तरकारीका लागि छिमेकी जिल्लाको भर पर्ने गरेका थियौँ, अहिले आफ्नै गाउँमा पानी आएको छ, हामीलाई कृषि क्षेत्रमा सहजता भएको छ ।”
हाल जलवायु परिर्वतनसम्बन्धी भएका कामका बारेमा जानकारी, यसमा मिडियाले खेल्नुपर्ने भूमिका, जलवायुले पार्ने असरलगायतका विषयमा जानकारी दिन तथा पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना (इबिए)ले सुदूरपश्चिमको अछाम तथा कर्णाली प्रदेशका सुर्खेत, सल्यानलगायतका ठाउँमा आफूले गरेका कामको अनुगमन पनि भएको इबिएका दीपेन्द्र जोशीले जानकारी दिनुभयो ।
