लिमीका चौरी लेकतिर सार्न थालियो

सिमकोट:वर्षायाम सुरु भएसँगै हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका चौँरी यतिबेला लेक (खर्क)मा सार्न सुरु भएको छ । जाडोयामको ६ महिनाका लागि बेँसी झरेका चौँरी वर्षायाम सुरु भएसँगै लेकतिर चरिचराउका लिने गरिन्छ ।

जाडोयाम सुरु भएसँगै गाउँमा ल्याइएका चौँरी वर्षा लागेपछि आजभोलि लेक (खर्क) लिन सुरु गरिएको स्थानीय कुन्जोक लामाले बताउनुभयो । उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । लेकतिर लगेपछि घुम्ती गोठ बनाएर चौँरीपालन गर्दै आउने गरेको लामाले बताउनुभयो । चौँरीपालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा लिमीको उच्च क्षेत्रमा रहेको इङ खोला चौँरीपालनका लागि लिने गरेको उहाँले बताउनुभयो ।

वडा–६ लिमीको तीनल, जाङ र हल्जी गाउँका स्थानीयवासीले यतिबेला चौँरी पालनका लागि गाउँभन्दा टाढा रहेको इङ खोला लिन सुरु गरेका छन् । यी तीन गाउँमा झन्डै दुई सयभन्दा बढी चौँरी रहेको लामाले बताउनुभयो । ती सबै चौँरी लेकतिर सार्न सुरु गरिएको छ । उत्तरी नाम्खा उच्च क्षेत्र रहेका यहाँ अत्यधिक चिसो हुनाका साथै हिमपातसमेत हुन्छ । बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि पुनः लेक लान थालिएको हो । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या हुने भएकाले लेकतिर चाँडो लिन लागिएको हो ।

यस्तै, जाडो समय बेँसी झारिएका सिमकोट, खार्पुनाथ, सर्केगाडलगायत गाउँपालिकाका भेडाबाख्रा, गाईगोरुसमेत लेकतिर सार्न सुरु गरिएको छ । सिमकोट–२ ठेहेका भेडापालक कालु बोहराले भन्नुभयो, “जाडोमा बेँसीतिर झार्छौँ, गर्मी सुरु भएपछि फेरि लेकतिर लिने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभई मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हुन्छ । वर्षायाममा गर्मी हुन्छ, लेकमा रहेका पाटनमा बुकी पलाउनाका साथै पशुचौपायका लागि घाँस राम्रो पाउने हुँदा वैशाखदेखि लेक लान सुरु गरिन्छ ।”

सिमकोट गाउँपालिकाका कृषकले चुवाखोलामा पशुचौपाया पालनका लागि लिने गर्दछन् भने चुवखोला उपयुक्त क्षेत्र हो । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा भेँडाबाख्रा, गाईभैँसी पाल्दै आएका छन् । यस्तै, पालनका लागि जिल्लाबाहिर बझाङ, अछामलगायत जिल्लामा लिइएका भेडाबाख्रासमेत यो समय लेखतिर ल्याउन थालिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?