एघार महिनामा पाँच हजार तीन सयले छाडे गाउँ

तम्घास: बढ्दो बेरोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको अभावका कारण अहिले बसाइँसराइ बढ्दो छ । यही समस्याको परिणामस्वरुप अहिले गाउँ रित्तिदै गएका छन् । यस्तै अवस्थामा गुल्मीमा पनि छ ।

गुल्मीमा पछिल्लो ११ महिनामा बसाइँसराइ बढ्दो अवस्थामा छ । जिल्लाबाट गत वर्ष ०७९ वैशाख १ देखि चैत ८ गतेसम्म ११ महिनामा एक हजार चार सय एक परिवारका पाँच हजार तीन सय ४५ जनाले गाउँ छोडेका छन् ।

राष्ट्रिय पञ्जीकरण विभागका अनुसार जिल्लाका १२ पालिकामध्ये सबैभन्दा धेरै मुसिकोट नगरपालिका र सबैभन्दा कम इस्मा गाउँपालिकाबाट बसाइँसराइ गरेका छन् । नौ महिनामा मुसिकोटबाट एक सय ७५ परिवारका सात सय २२ एवं इस्माबाट ७२ परिवारका दुई सय ४८ जनाले गाउँ छाडेका छन् ।

त्यस्तै रेसुङ्गा नगरपालिकाबाट एक सय परिवारका तीन सय ४८, कालीगण्डकी गाउँपालिकाबाट एक सय चार परिवारका तीन सय ९४ जना, गुल्मीदरबार गाउँपालिकाबाट एक सय २२ परिवारका चार सय ८५ जनाले गाउँ छोडेको तथ्याङ्क छ ।

सत्यवती गाउँपालिकाबाट एक सय ५९ परिवारका पाँच सय ८१, चन्द्रकोट गाउँपालिकाबाट एक सय १८ परिवारका चार सय ५५, रुरुक्षेत्र गाउँपालिकाबाट एक सय १४ परिवारका चार सय १४, छत्रकोट गाउँपालिकाबाट एक सय ३७ परिवारका पाँच सय ३१, धुर्कोट गाउँपालिकाबाट एक सय एक परिवारका तीन सय ९१, मदाने गाउँपालिकाबाट एक सय ११ परिवारका चार सय ११ जना र मालिका गाउँपालिकाबाट ८७ परिवारका तीन सय ३१ जनाले गाउँ छाडेका छन् ।

मालिका गाउँपालिकाका अध्यक्ष देवीराम अर्यालले बसाइँसराइ रोक्न पालिकाले शिक्षा, स्वास्थ्य र कृषिमा लगानी गरेको बताउनुभयो । “स्वास्थ्य र शिक्षा राम्रो भएमा नागरिक गाउँ बस्छन्”, उहाँले भन्नुभयो, “कृषिमार्फत रोजगारी सिर्जना गर्ने योजना छ ।” अर्यालले रोजगारी सिर्जना र मानिसको अत्यधिक बसाइँसराइ रोक्न भने आफूहरुको कदम पर्याप्त नभएको बताउनुभयो । यसका लागि अन्तरपालिका समन्वय र सङ्घीय र प्रदेश सरकारले पनि ठोस योजना बनाउनुपर्ने उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?