घट्दै निकुञ्जको घाँसे मैदान

चितवन:चितवन राष्ट्रिय निकुञ्जमा घाँसे मैदानको क्षेत्रफल घट्दै गएको छ । मिचाहा प्रजाति बढ्दै जानु र बजेट अभावमा काम हुन नसक्दा घाँसे मैदान घट्दै गएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा सन् १९७० को दशकमा कूल क्षेत्रफलको २० प्रतिशत घाँसे मैदान थियो ।

सन् २०१५ मा गरिएको सर्वेक्षणले क्षेत्रफल घटेर नौ दशमलव ६१ प्रतिशतमा सीमित भएको छ । उहाँका अनुसार बासस्थान संरक्षण र व्यवस्थापनका लागि कम्तीमा १० प्रतिशत घाँसे मैदान आवश्यक पर्दछ ।

निकुञ्जले घाँसे मैदान व्यवस्थापन अन्तर्गत जरासहित रुख उखेल्ने, झारपात सफा गर्ने, अग्लो घाँस ढड्डी काट्ने, नियन्त्रित आगो लगाउने, स–साना पोथ्रा हटाउने, रुखको मुना हटाउने र मिचाहा प्रजाति नियन्त्रण गरी हटाउने जस्ता कार्यक्रम गर्ने गरेको छ ।

निकुञ्जले पुराना घाँसे मैदानको व्यवस्थापन र नयाँ घाँसे मैदान निर्माण गर्दै आएको छ । तिवारीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा रु तीन करोड १० लाख बजेटमा छ सय हेक्टर घाँसे मैदान निर्माण गरिएको थियो । सोही वर्ष रु २८ लाख ९९ हजार बजेटमा ५७ दशमलव ७९ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापन गरिएको थियो ।

यसैगरी आव २०७७/७८ मा रु तीन करोड ५० लाख बजेटमा सात सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान निर्माण गरिएको थियो भने सोही वर्ष रु ९९ लाख ५७ हजार बजेटमा चार सय हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा रु २५ लाख बजेटमा ५० हेक्टरमा नयाँ घाँसे मैदान निर्माण गरिएको थियो भने रु ३८ लाख ३५ हजार मा ३०८ हेक्टर पुरानो घाँसे मैदान व्यवस्थापन गरिएको छ । चालु आवमा रु २५ लाख बजेटमा ५० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गरिएको र भने रु ३३ लाख ३७ हजार मा दुई सय २५ हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम भएको छ ।

गैंँडालगायतका बाघको आहारा प्रजातिका जनावरका लागि घाँसे मैदान महत्वपूर्ण मानिन्छ । यसका साथै पानीको स्रोतको पनि व्यवस्थापन महत्वपूर्ण छ । निकुञ्जभित्र करिब ११० वटा साना ठूला ताल, घोल र पोखरी छन् ।

पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा छ सय ९४ वटा गैँडा, एक सय २८ वटा बाँघ र ९९ दशमलव सात प्रति वर्गकिलोमिटर क्षेत्रफलमा आहारा प्रजातिको बासस्थान छन् । आहारा प्रजातिको सङ्ख्या बढ्दै जाँदा घाँसे मैदानको क्षेत्रफल बढाउँदै जानुपर्ने भए पनि पर्याप्त बजेटको अभावमा घाँसे मैदान बढाउन नसकिएको तिवारीको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments