विदेशबाट फर्किएर पशुपालन

किसानलाई भैँसी

दमौली:तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी विशाल पौडेल विसं २०६९ देखि पाँच वर्षसम्म कतारमा सुपरमार्केटमा काम गरेर नेपाल फर्किनुभयो । विदेशमा काम गर्नुभन्दा स्वदेश फर्किएर उत्पादनमूलक व्यवसायमा लाग्ने उहाँको सोच थियो । सोचअनुरुप उहाँले स्वदेश फर्किएपछि केही गरौंँ भनेर साथीहरुसँग सल्लाह गर्नुभयो । शुक्लागण्डकी नगरपालिका–८ का रुपबहादुर गोतामेले एक वर्ष कतार र आठ वर्ष दुबईमा काम गर्नुभयो । उहाँ पाँच वर्ष अगाडि नेपाल फर्किनुभयो ।

नेपालमै केही गरौँ भन्ने भावना उहाँमा पनि थियो । पौडेल र गोतामको सोच मिल्यो र अन्य साथीसँग सल्लाह गर्न थाल्नुभयो । शुक्लागण्डकी नगरपालिकाकै विभिन्न वडा घर भई विदेशबाट फर्किएका पाँच युवा र अन्य यहीँका स्थानीय युवाको सहभागितामा वैशाखेघाट लाइभष्टक एग्रो प्रालि सञ्चालनमा आयो । कूल १३ जनाको साझेदारीमा विगत पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालनमा छ ।

पौडेल र गोतामेसहित विदेशबाट फर्किएका शुक्लागण्डकी–११ का सुमन गौतम, दिपक सिग्देल र दिपेन्द्र पौडेलको फार्ममा लगानी छ । अन्य आठ जना भने विभिन्न क्षेत्रका व्यक्ति यसमा आबद्ध छन् । उक्त एग्रो प्रालिमा हाल एक सय ५० गाईभैँसी छन् । त्यसमध्ये ३० गाई छन् भने बाँकी भैँसी रहेको एग्रो प्रालिका व्यवस्थापक रहनुभएका विशालले जानकारी दिनुभयो ।

“उत्पादनमूलक व्यवसाय गर्नुप¥यो भनेर साथीहरुसँग सल्लाह भएबमोजिम पाँच वर्षदेखि एग्रो प्रालि सञ्चालन भइरहेको छ । पाँच जना विदेशबाट फर्किएका युवाहरु छौँ,” उहाँले भन्नुभयो, “राम्रोसँग गरे पक्कै पनि सफल भइन्छ भनेर उद्देश्य राखेर फार्म सञ्चालन गरिएको हो ।” उहाँका अनुसार ५० भैँसी र ३० गाई दुधालु छन् ।

फार्मबाट दैनिक छ सय लिटर दूध उत्पादन हुँदै आएको छ । दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने लक्ष्यसहित ६० गाई थप्ने योजना रहेको पौडेलले सुनाउनुभयो । व्यवसायमा कठिनाइ र सङ्घर्ष रहेको भन्दै पौडेलले भन्नुभयो, “पहिला अर्काको देशमा गएर रोजगारी गर्नुभन्दा अहिले अरुलाई रोजगारी दिन पाउँदा सन्तुष्ट छौँ ।” तर सरकारी निकायबाट कृषि र पशुपालनका लागि त्यतिधेरै वास्ता नगर्दा दुःख लाग्ने गरेको उहाँको गुनासो छ । दाना, चोकर, औषधि उपचारमा सरकारी पक्षको सहयोग हुनुपर्ने उहाँको माग छ ।

प्रालिले १७ जनालाई रोजगारी दिएको छ । घाँस काट्न आवश्यकता अनुसार दश जनासम्मलाई रोजगारी दिइएको छ । प्रालिका सञ्चालक रुपबहादुर गोतामेले सरकारी पक्षबाट पशुपालन व्यवसायमा सहयोग नरहेको बताउनुभयो । “गाईभैँसी बिरामी पर्दा पालिकाबाट प्राविधिक आउनुहुन्न, बाहिरबाट मगाउनुपर्छ । यति ठूलो फार्म सञ्चालन गरेपछि सरकारी पक्षबाट पनि हेरिदिए हुन्थ्यो भन्ने लाग्छ,” उहाँले भन्नुभयो, “एउटा गाईभैँसी बिरामी भयो भने फोन गरेर अन्यत्रैबाट प्राविधिक बोलाउनुपर्छ ।”

उक्त फार्ममा कूल लगानी रु १५ करोड पुगेको छ । त्यसमध्ये बैंकबाट रु दश करोड ऋण लिइएको प्रालिका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो । प्रालिले एक सय २० रोपनी जग्गा खरिद गरेको छ । त्यसमध्ये पशुपालनमा ५० रोपनी जग्गा प्रयोग भएको छ ।

फार्मबाट उत्पादित दूध शुक्ला कृषि पर्यटन सहकारीमार्फत् बिक्री वितरण हुँदै आएको छ । “दूध बिक्रीमा समस्या छैन, बजारको माग पु¥याउन सकिरहेका छैनाँै, हाम्रो लक्ष्य दैनिक एक हजार पाँच सय लिटर दूध उत्पादन गर्ने हो । गाईभैँसी थप्ने लक्ष्य छ”, सिग्देलले भन्नुभयो ।

प्रालिले गोबर र पिसाब व्यवस्थापन सहितको कामका लागि प्रालिलाई नेपाल लाइभस्ष्टक सेक्टर इन्नोभेसन आयोजना विकेन्द्रिकृत आयोजना सहयोग इकाइमार्फत् रु एक करोड ७६ लाख अनुदान प्राप्तिका लागि सम्झौता गरेको छ । त्यसमध्ये पचास प्रतिशत लागत साझेदारी प्रालिले बेहोर्नुपर्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?