चैते धान खेतीमा किसानको आकर्षण बढ्दो

वेदकोट:कञ्चनपुरमा चैते धान खेतीमा किसानको आकर्षण बढ्दै गएको छ । विगतका वर्षको तुलनामा यस वर्ष कञ्चनपुरमा चैते धान खेतीको क्षेत्र बढेको छ ।

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार यस वर्ष एक सय ५० हेक्टरभन्दा बढी क्षेत्रफलमा चैते धानको खेती गरिएको छ । उत्पादन राम्रो हुने भएपछि चैते धान खेतीमा किसान आकर्षित हुन थालेको ज्ञान केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले बताउनुभयो ।

“अरु बेलाको धानको उत्पादन औसत चार मेट्रिक टन प्रतिहेक्टर छ, चैते धानको उत्पादन साढे चार मेट्रिक टनभन्दा बढी छ”, उहाँले भन्नुभयो, “त्यसैले चैते धान खेतीको क्षेत्र बढ्दै गएको छ ।” भीमदत्त नगरपालिकासहित जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास, बेलडाँडीलगायत क्षेत्रमा चैते धान खेती बढी हुने गरेको उहाँले बताउनुभयो ।

“चैते धान खेती विशेष गरेर चिउरा, भुजाको लागि गरिन्छ, त्यसका लागि स्थानीयस्तरमै उत्पादित धानले सहजै बजार पाउने गरेको छ”, सूचना अधिकारी जोशीले भन्नुभयो, “चैते धान खेती गर्नसके राम्रै फाइदा हुन्छ ।”

कृषकले चैते धान खेतीका लागि बीउ लैजाने क्रम बढेको प्रधानमन्त्री कृषि आयोजना कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमाल बताउनुहुन्छ । उहाँका अनुसार यस वर्ष कार्यालयबाट करिब २४ हेक्टर क्षेत्रफल जमिनलाई पुग्ने धानको बीउ वितरण भएको छ । “गत वर्ष १८ हेक्टर क्षेत्रफलका लागि बीउ गएको थियो”, उहाँले भन्नुभयो, “यसपटक विगतभन्दा अर्को ठाउँका किसानले पनि खेतीका लागि बीउ लगेका छन् ।” उहाँका अनुसार कञ्चनपुरमा चैते–५ र हर्दिनाथ जातको धानको खेती बढी हुने गरेको छ । “बोरिङको सुविधा अनिवार्य गरेका छौँ”, रिमालले भन्नुभयो, “विगतको तुलनामा किसानको आकर्षण बढेर चैते धान खेतीको क्षेत्र बढेको छ ।”

कञ्चनपुरको बेलाडाँडी गाउँपालिकाको झिलमिला क्षेत्रमा सबैभन्दा बढी चैते धानको खेती हुने गरेको छ । किसानले चैते धान खेतीपछि बर्खे धान खेती गरेर दोहोरो फाइदा लिइरहेका छन् । अनुदानमा मल, बीउबिजन, कृषि औजार र उपकरण पाउन थालेपछि किसान बर्खे खेतीसँगै चैते खेतीप्रति पनि आकर्षित हुन थालेका हुन ।

कञ्चनपुरको बेलौरी, पुनर्वास, भीमदत्त, वेदकोट, कृष्णपुर, शुक्लाफाँटा, बेलडाँडी, दोधाराचाँदनी, लालझाडीलगायत क्षेत्रमा गरेर ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती गरिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?