दूधको परिकार बिक्री गर्दै सहकारी

चिज उत्पादन

दमौली:तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ ।

आयोजनामार्फत् दुलेगौँडा बजारमा डेरी उद्योग स्थापना गरी दूधबाट परिकार उत्पादनको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो ।

दूध प्रशोधन गरी घ्यू, पनिर, दही लगायतका परिकार उत्पादनका लागि रु ९९ लाख २९ हजार तीन सयको योजना लागत सहभागितामा सञ्चालन गरिने सिग्देलले बताउनुभयो । त्यसमध्ये रु ४९ लाख ६४ हजार छ सय ५० अनुदान प्राप्त हुनेछ, भने बाँकी रकम सहकारीले साझेदारी गर्नेछ । “दूध प्रशोधन गरी आवश्यक परिकार उत्पादनका लागि उपकरण आइसकेका छन्, छिट्टै नै उत्पादनको चरणमा जान्छाँै,” उहाँले भन्नुभयो ।

पाँच वर्ष अगाडि स्थापना भएको सहकारीले यस क्षेत्रका किसानले उत्पादन गरेका दूध बिक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत् दैनिक एक हजार लिटर दूध बिक्री हुने गरेको छ । सहकारीले किसानलाई भैँसीको दूधको रु एक सय र गाईको दूधको रु ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।

“किसानको दूध बिक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर सङ्कलन गर्दै आएको छ, त्यसका लागि छ ठाउँमा सङ्कलन केन्द्र स्थापना गरेका छौँ,” उहाँले भन्नुभयो, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।”

सहकारीले किसानबाट दैनिक एक हजार दुई सय लिटर दूध सङ्कलन गर्दै आएको छ । डेरी उद्योग स्थापनाका लागि रु तीन करोड लगानी भएको छ । सहकारीले डेरी स्थापनाका लागि रु एक करोड ९० लाखमा जग्गा खरिद गरेको छ ।

“भैँसीको दूध बजारीकरणमा समस्या छैन, गाईको दूधबाट परिकार उत्पादन गरी बिक्री गर्ने तयारीमा लागिरहेका छौँ,” अध्यक्ष सिग्देलले भन्नुभयो, “सहकारीबाट दूध मात्रै बिक्री हुने गरेकामा अब प्याकेटिङ गरेर दूधजन्य परिकार बिक्री वितरण गर्छौँ ।”दुई हजार पाँच सय शेयर सदस्य आवद्ध सहकारीबाट एक सय किसानले दूध बिक्री वितरण गर्दै आएका छन् । दूध बिक्री गरेर किसानले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उत्पादन र उपभोग गर्ने लक्ष्यसहित सहकारी संस्थाले डेरी उद्योग स्थापना गरिएको बताइएको छ । सहकारीमा एक हजार दुई सय सात पुरुष र एक हजार दुई सय ६८ महिला आवद्ध छन् । सहकारीको रु ११ करोड शेयर पुँजी रहेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको सहकारीले कृषि र उत्पादनमा जोड दिँदै लगानी गर्दै आएको छ ।

सहकारीमार्फत् स्थापित डेरी उद्योगबाट उत्पादित परिकार बजारीकरणमा सहयोग पुगोस् भन्नका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सहयोग गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूधमा आत्मनिर्भर बनेको उहाँले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?