अनुदानबापतको एकमुष्ट भुक्तानी नपाउँदा उखु किसान असन्तुष्ट

उखु किसान
बर्दिबास:मुलुकका अधिकांश चिनी मिलले समयमै भुक्तानी नगरेको भनी किसानको गुनासो बढिरहेका बेला महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले भने यो वर्ष खरिद गरेका उखुको सबै भुक्तानी गरेको जनाएको छ । मिलले क्रसिङ सिजन २०७९÷८० लागि २६ लाख ३० हजार ७४७ क्विन्टल उखु खरिद गरी दुई लाख ४२ हजार तीन क्विन्टल चिनी उत्पादन गरेको थियो ।

उक्त उखु महोत्तरी, सर्लाही, रौतहट र धनुषा जिल्लाका १२ हजार ५९० जना कृषकबाट खरिद गरेको थियो । एभरेस्ट चिनी मिलका वित्तीय महाप्रबन्धक विमलचन्द्र ठाकुरले खरिद गरिएका उखुको एक अर्ब ४० करोड २५ लाख रुपियाँ भुक्तानी गरिसकेको बताउनुभयो । मिलले खरिद गरेका सबै उखुको १७ पटक गरी किसानको खातामार्फत भुक्तानी सकेको हो ।

उचित मूल्य र समयमै भुक्तानी नपाएका कारण उखु खेती घट्दै गएपछि एभरेस्टले यो वर्ष उखु खरिद गरेको साता दिनभित्र भुक्तानी दिने नीति लिएको थियो । “यो नीति अन्तर्गत हामीले सबै कृषकको समयभित्रै भुक्तानी सकेका छौँ,” ठाकुरले भन्नुभयो ।

उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेश सिंह कुशवाहाका अनुसार कारखानाले भुक्तानी सकेको जनाए पनि उखुको पुरानै रेट प्रतिक्विन्टल ५२० रुपियाँको दरले मात्र उपलब्ध गराएकाले समयमै भुक्तानी पाए पनि उखु कृषक भने उत्साहित देखिँदैनन् । सरकारले यो वर्ष उखुको २० रुपियाँ वृद्धि गरेकाले कारखानाले प्रतिक्विन्टल ५४० को दरले भुक्तानी दिनुपर्ने हो तर नयाँ मूल्यको तुलनामा २० रुपियाँ कम भुक्तानी गर्दा उखु किसानको पाँच करोड २६ लाख १४ हजार रुपियाँ अझै बक्यौता रहेको उहाँको जिकिर छ ।

एभरेस्ट चिनी मिलका महाप्रबन्धक सुरेन्द्र शुक्लाले धेरैजसो उखु कृषकले कारखानाबाट मलखाद, बिउ तथा कीटनाशक लगेकाले हिसाब मिलान गरी बाँकी रहेको रकम केही दिनमै कृषकको खातामा जम्मा गर्ने तयारी भइरहेको जनाउनुभयो ।

उखु कृषकले मल, बिउ, मजदुरी महँगो भएको र इन्धनको मूल्य आकाशिएकाले उखुको पुरानो मूल्यमा ११० रुपियाँ थप गरी प्रतिक्विन्टल सात सय रुपियाँ पु¥याउनुपर्ने माग राख्दै आएका थिए तर मिलले ५४० र सरकाले अनुदानबापत ७० रुपियाँ दिने गरी प्रतिक्विन्टल उखुको नयाँ मूल्य ६१० रुपियाँ निर्धारण गरिएको छ । अनुदानबापतको ७० रुपियाँ भने सरकारले नयाँ बजेट भाषणपछि दिने गरेकाले उखु किसानले एकमुष्ट भुक्तानी नपाउँदा बढेको मूल्यको अनुभूति गर्न नपाएको गुनासो गर्दै आएका छन् ।आजको गोरखापत्र अनलाइनमा खबर छ ।  

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments