खडेरीले मकैको बिरुवा सुक्न थालेपछि कृषक चिन्तित

उदयपुर: उदयपुरमा खडेरीका कारण मकैको बिरुवा सुक्न थालेपछि किसान चिन्तित भएका छन् । ढिलो गरी चैतको अन्तिमतिर मकै रोपिए पनि त्यसयता वर्षा नभएका कारण जिल्लाको पहाडी क्षेत्रमा मकैका बिरुवा मर्न थालेपछि किसानलाई चिन्ता भएको हो ।

चैतको अन्तिमदेखि यता आएर एकपटक पनि वर्षा नभएपछि जिल्लाको पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, ताम्लीछा, बराह, जाँते बासबोटेसहित रौतामाई गाउँपालिकाको भुटार, इनामे, नामेटार, रामेटार आपटार क्षेत्रका कृषक लामो खडेरीका कारण मकैको बिरुवा मर्न थालेको भन्दै चिन्तित बनेका हुन् । रौतामाई गाउँपालिका–४ पाँबुका कृषक वीन्द्रबहादुर मगरका अनुसार राम्ररी हुर्कँदै गरेको मकैका बिरुवा खडेरीको कारण अहिले धामधम ओइलाउन थालेका र पात सुक्न थालेका कारण आफूहरू चिन्तित बनेको बताउँछन् ।

चैत अन्तिम हप्तादेखि खडेरी लागेको र अहिलेसम्म एकझर वर्षा हुन नसकेका कारण खेतबारीमा लगाएको सबै मकैका बिरुवा ओइलाएर मर्न थालेको रौतामाई आपटारका कृषक वीरबहादुर कटुवाल बताउनुहुन्छ ।

यता जिल्लाको मध्यपहाडी क्षेत्रको उदयपुरगढी गाउँपालिका–३ दनुवारबेँसीका कृषक धनबहादुर दनुवार भन्नुहुन्छ, “राम्ररी मकैको बिरुवा हुर्कन लागेका बेला कडा खडेरी सुरु भएकाले विरुवा मर्न थालेपछि आफूहरूलाई चिन्तित बनाएको छ ।”

पिपलभन्ज्याङका कृषक राजबहादुर राई भन्नुहुन्छ, “वैशाखको सुरुमा खडेरी सुरु भए पनि मकैको बिरुवा त मर्दैन होला भन्ने थियो, तर झनै खडेरी बढ्दै गएको र वर्षा नभएपछि मकैको बिरुवा मर्न थालेका कारण यसपटक मकैखेती बर्बाद हुने अवस्था आएको छ ।”

खडेरीको कारण जिल्लाको तराई क्षेत्रमा पनि मकैको बिरुवा सुक्न थालेका छन् । पहाडी क्षेत्रको मुख्य अन्नबालीका रूपमा रहेको मकै बाली खडेरीको कारण नष्ट भए भोकमरीको सामना गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै कृषक चिन्तित बनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?