असिनापानीले खेतीबाली नष्ट

म्याग्दी:म्याग्दीका विभिन्न ठाउँमा आज दिउँसो परेको असिनापानीले खेतीबाली नष्ट भएपछि कृषक निराश भएका छन् ।

मालिका, रघुगङ्गा, अन्नपूर्ण, मङ्गला गाउँपालिका र बेनी नगरपालिकामा असिनाले आलु, मकै, सुन्तला जात फलफूल र टिम्मुर बालीमा क्षति पुगेपछि कृषक चिन्तित र निराश भएका हुन् । मालिकाको पन्थोक, मगरदाङ, जुग्जा, रुन्मा, रघुगङ्गाको मौवाफाँट, मङ्गलाको कुहुँ, अन्नपूर्णको टिकोटमा हावाहुरीसहितको असिना परेको थियो ।

हुर्कँदै गरेका मकै र आलुका बिरुवा असिनाले चुटेर क्षति गरेको मालिका गाउँपालिका–५ पन्थोकको भीम माविका प्रअ डम्बरबहादुर घर्तिमगरले जानकारी दिनुभयो ।

सुन्तला, कागती र टिम्मुरका बटिला असिनाले झारेको छ । ब्याडमा हुर्कँदै गरेको धानका बेर्नालाई पनि असिनाले चुटेको छ । पन्थोक क्षेत्रमा परेको असिना तीन घन्टासम्म जमेको थियो ।

मकै म्याग्दीको प्रमुख खाद्यबाली हो । आलु र सुन्तला म्याग्दीबाट निकासी हुने मुख्य कृषि उपज हुन् । यसपालि हिउँ र बर्सात नहुँदा जौ, गहुँ, उवा, तोरी, केराउलगायत हिउँदेबालीको उत्पादनमा असर परेको छ ।

क्षतिको पूर्ण विवरण आई नसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । स्थानीय तहका कृषि प्राविधिकहरुलाई क्षतिको विवरण सङ्कलनका लागि परिचालन गरिएको केन्द्रका प्रमुख किरण सिग्देलले बताउनुभयो ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments