आधुनिक उपकरणबाट च्याङ्ग्राको भूवा सङ्कलनतर्फ किसान

काठमाडौँ:पश्मिनाका लागि चाहिने कच्चापदार्थ च्याङ्ग्राको भूवा सङ्कलन वृद्धि ल्याउने उद्देश्यले मनाङका च्याङग्रापालक किसानलाई च्याङग्राबाट भूवा निकाल्ने आधुनिक विधिबारे प्रशिक्षण दिइएको छ । च्याङग्रापालनमा अग्रणीमध्येको मनाङमा च्याङग्राबाट आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारेको ज्ञानबाट स्थानीय किसानले च्याङग्राबाट निकाल्ने भूवाको मात्रा तथा गुणस्तरमा अभिवृद्धि हुने विश्वास लिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा युरोपियन युनियनको सहयोगमा सञ्चालित इयु–नेपाल व्यापार तथा लगानी कार्यक्रमको संयुक्त आयोजना तथा मनाङको नार्पाभूमि गाउँपालिकाको स्थानीय संयोजनमा च्याङ्ग्रापालक किसानका लागि भूवा सङ्कलनसम्बन्धी अनुशिक्षण तथा सामग्री हस्तान्तरण कार्यक्रम आयोजना गरिएको हो ।

गत वर्ष इयु नेपाल व्यापार तथा लगानी कार्यक्रमको आर्थिक सहयोगमा मुस्ताङमा सञ्चालन भएको प्रशिक्षक प्रशिक्षण कार्यक्रमबाट प्रशिक्षित भएका नेपाली प्रशिक्षकद्वारा मनाङका किसानलाई भूवा सङ्कलनको आधुनिक विधिबारे तालिम दिइएको हो । मनाङको नारमा सम्पन्न तालिममा २१ जना च्याङ्ग्रापालक किसानको सहभागिता रहेको थियो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले च्याङ्ग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे धेरै किसानमा अझै ज्ञानको अभाव भएको अवस्थामा यस किसिमको तालिमले आधुनिक तरिकाले भूवा निकाल्ने विधिबारे जानकारी हुन गई आगामी दिनमा नेपाली पश्मिनाका लागि चाहिने कच्चापदार्थ भूवाको उत्पादन स्वदेशमा नै वृद्धि सकिने बताउनुभयो ।

“तालिमबाट स्थानीय किसानले च्याङ्ग्राको भूवाबाट आर्थिक लाभ लिन सकिनेबारे जानकारीमात्र होइन भूवा झिक्ने कामलाई कसरी आधुनिकविधि र उपकरणबाट सहज बनाउन सकिन्छ भन्नेबारे बुझ्ने अवसर चाङ्ग्रा किसानले पाए । यस्ता तलिमले स्वदेशमै भूवा उत्पादनको मात्रा र गुणस्तर दुबै बढाउन सकिने देखिन्छ” कार्कीले भन्नुभयो ।

गाउँपालिकाका जनप्रतिनिधिले च्याङ्ग्रापालक किसानको क्षमता अभिवृद्धिमार्फत भूवा उत्पादन वृद्धिका लागि स्थानीय सरकार र अन्य सरोकारवाला निकायबीच सहकार्यको आवश्यकता औंँल्याएका थिए । तालिमको अवसरमा आधुनिक तरिकाले भूवा निकाल्नको लागि प्रयोग हुने २० थान काइँयो स्थानीय जनप्रतिनिधिहरूमार्फत किसानलाई वितरण गरिएको थियो । सरकारले हालै सार्वजनिक गरेको पश्मिना क्षेत्र निर्यात राष्ट्रिय रणनीतिले पनि च्याङ्ग्रापालन प्रवद्र्धनमार्फत भूवा तथा तयारी पश्मिना उत्पादनलाई बढोत्तरी गर्दै सन् २०२६ सम्ममा नेपालबाट पश्चिमना निर्यात सात करोड ५० लाख अमेरिकी डलर पु¥याउने लक्ष्य लिएको छ । सन् २०२१ मा नेपालबाट कूल १.९३ करोड अमेरिकी डलर बराबरको तयारी पश्मिना निर्यात भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?