चैते धान प्रोत्साहन कार्यक्रममा अधिक निवेदन

चितवन:जिल्लामा चैते धान खेती गरेका कृषकलाई प्रोत्साहनस्वरुप प्रदान गर्न ल्याइएको कार्यक्रममा बजेटभन्दा सात गुणा बढीको निवेदन परेको छ । कृषि ज्ञान केन्द्र चितवनले चैत २७ गते १५ दिने सूचना जारी गरी प्रोत्साहन कार्यक्रममा सहभागी हुनका लागि कृषकलाई आह्वान गरेको थियो ।

जिल्लाका पाँच पालिकाका किसानले चार हजार हेक्टर क्षेत्रफलमा चैते धान लगाएका छन् । चैते धान खेती गर्ने किसानले प्रोत्साहन कार्यक्रमका लागि निवेदन बुझाएका केन्द्रले जनाएको छ । केन्द्रमा छ सय हेक्टर क्षेत्रफललाई मात्रै पुग्ने बजेट भए पनि अहिले किसानको निवेदनका आधारमा चैते धान खेती गर्ने कृषकको सङ्ख्या बढेको केन्द्रका निमित्त प्रमुख मीनबहादुर पुनले जानकारी दिनुभयो ।

एक हेक्टरमा ३० कट्ठा हुने र एक कट्ठा बराबर रू चार सयका दरले प्रोत्साहन रकम दिन कार्यविधिमा भए पनि माग बढेपछि अहिले स्थलगत अनुगमन सुरु गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा यो पहिलो कार्यक्रम हो । हामीले अहिले स्थलगत अनुगमन गरिरहेका छौँ ।”

मकवानपुर र चितवनमा यस कार्यक्रमका लागि रू ७३ लाख ५० हजार बजेट भए पनि मकवानपुर तथा चितवनको कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाबाट निवेदन नआएको निमित्त प्रमुख पुनले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले आएका निवेदन सबैलाई कार्यक्रममा समेट्ने हो भने प्रतिकट्ठा रू ६० का दरले पर्न जान्छ ।”

निवेदन सङ्ख्या बढेसँगै किसानलाई वर्गीकरण गरेर प्रोत्साहन रकम दिने तयारी थालिएको पुनको भनाइ छ । साना किसानलाई लक्षित गर्दै रकम बाँडफाँट गर्ने योजनामा कार्यालय रहेको भन्दै उहाँले निर्णय गर्न बाँकी रहेको बताउनुभयो । सबैभन्दा धेरै खैरहनी नगरपालिकाबाट निवेदन परेका छन् । राप्ती, रत्ननगर र माडी नगरपालिकाका साथै भरतपुर महानगरपालिकाको पश्चिमी भूभागका कृषक पनि उक्त कार्यक्रममा समेटिएका कार्यालयले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?