कैलालीमा रासायनिक मल आपूर्ति अनिश्चित

बङ्गलादेशबाट खरिद गरिएको ५२ हजार मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार– सरकार (जिटुजी) मार्फत रासायनिक मल खरिद गरिने सम्झौताअनुसार सो परिमाणको मल कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्ज, विराटनगर र भैरहवामा आइपुगेको हो ।

टीकापुर:कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यस वर्ष पनि डिएपी मलको अभाव हुने उनीहरुलाई चिन्ता छ ।

कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यस वर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्र्तराष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टटे«डिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ । यस वर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डिएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिनुभयो ।

“किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्”, उहाँले भन्नुभयो, “मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।”

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डिएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताउनुभयो । “पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डिएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ”, उहाँले भन्नुभयो, “थप मल भैरहवा नाकामा आयात गरिए वितरण गर्न सकिन्थ्यो ।”

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ । कैलालीमा १८ हजार मेट्रिक टन डिएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ । माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ । यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।

किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित गर्ने गरेको बताउनुभयो । “खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैँ अभाव झेलिरहन्छौँ”, उहाँ भन्नुहुन्छ, “अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ । समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ ।”

अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ । “हरेक वर्ष खेती गर्ने समयमा मल अभाव झेल्छौँ”, उहाँ भन्नुहुन्छ, “नेपाली बजारमा मल अभाव हुने, भारतबाट किनेर ल्याउँदा सीमामा दुःख दिइन्छ । हामीले खेती कसरी गर्नु ?”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?