गैँडाकोटमा मकैघर सञ्चालन

नवलपुर:स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न भन्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–५ स्थित नगरपालिका चोकमा मकैघर सञ्चालनमा आएको छ । बाह्रै महिना हरिया र ताजा मकै पाइने गैँडाकोटमा राजमार्गका यात्रु तथा स्थानीय ग्राहकलाई लक्षित गर्दै मकैका सम्पूर्ण सामग्री उपलब्ध गराउने गरी मकै घर सञ्चालनमा आएको हो ।

स्थानीय युवा व्यवसायी लीला सापकोटाले ग्राहकलाई सस्तो र स्वस्थकर खाजा दिने उद्देश्यसहित मकैघर सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँका अनुसार मकै घरमा ताजा पोलेको मकै, भुटेको मकै, उसिनेको मकै, मकैको चटपटे, मकैको मःमः, मकैको सातु, मकैको पकौडालगायतका परिकार पाइन्छन् । मकैसँग खान मिल्न गरी मही, उखुको जुस, फलफूलका जुसहरू ग्राहकलाई उपलब्ध गराइएको उहाँको भनाइ छ ।

“यहाँ उपलब्ध हुने मकै र मकैका सबै परिकार ताजा र स्वास्थ्यवर्द्धक छन्”, उहाँले भन्नुभयो, “सस्तो मूल्यमा भिटामिनयुक्त मकैका सबै प्रकारका परिकार पाइने यस मकैघरबाट सबै प्रकारका मकैका पारखीहरू लाभान्वित हुनेछन् ।” राजमार्गका सडक किनारामा अव्यवस्थित तरिकाले बिक्रीमा राखिएका पोलेका मकैलाई व्यवस्थित गर्न र व्यावसायिकरूपले सेवा दिन यो अवधारणा ल्याइएको उहाँले बताउनुभयो । मकै पोल्न तथा उसिन्नका लागि उहाँले राष्ट्रिय आविष्कार केन्द्रबाट तयार पारिएका औजार ल्याएको बताउनुभयो ।

“मसंँग अहिले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रबाट ल्याइएका ग्यासबाट र कोइलाबाट पोल्ने र भुट्न सकिने उपकरण छन्”, उहाँले भन्नुभयो, “हामीले उपभोक्ताको अगाडि उहाँहरूकै इच्छाअनुसार मकैका परिकार तयार पारेर दिन्छौँ ।” विद्युतीय उपकरणबाट मकै पोल्दा एउटै तापक्रम र निश्चित समयमा एकैपटक धेरै मकै पोल्न सकिने भन्दै उहाँले यसले मानिसको स्वास्थ्यमा खासै असर नपर्ने बताउनुभयो । रु १५ लाख लगानीमा सञ्चालनमा ल्याइएको मकैघरमा मकै पारखी नवलपुर, चितवन र राजमार्गमा गुड्ने ठूलादेखि साना सवारीसाधनका यात्रु हुने गरेको उहाँले बताउनुभयो ।

हाल मकैघरमा पांँच जनालाई रोजगारी दिइएको भन्दै उहाँले एकैपटकमा ५० जनासम्म उपभोक्तालाई सेवा दिन सक्ने क्षमता रहेको बताउनुभयो । “मकैघर जस्ता व्यवसायले स्थानीय किसानका उत्पादनलाई प्रवर्द्धन पनि गर्छ”, उहाँले भन्नुभयो, “यस मकैघरका कारण अन्य नयांँ व्यावसायीलाई प्रेरित गर्छ भन्ने मेरो विश्वास छ ।” मकैघरले छिट्टै नै अर्को शाखा चितवनमा विस्तार गर्ने तयारी गरिरहेको उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest

2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments