तनहुँका सबै पालिकामा ‘पशुमा पूर्ण खोप’

डुम्रे:भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ । विभिन्न प्रकारका सङ्क्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा यस कार्यक्रम प्रभावकारी बनेको छ ।

तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ । खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

केन्द्रले हालसम्म तीन लाख ५६ हजार आठ सय ३५ पशुवस्तुलाई खोप लगाइएको उहाँले बताउनुभयो । कार्यक्रमअन्तर्गत पिपिआर दुई लाख ३१ हजार आठ सय २२, खोरेत ९३ हजार दुई सय १५, चरचरे भ्यागुते ४७ हजार चार सय ८४, स्वाइन फिवर ६१ हजार नौ सय चार, रेबिज १४ हजार तीन सय १७ खोप लगाइएको उहाँले बताउनुभयो ।

पशुधन सुरक्षाका लागि सङ्क्रामक रोग नियन्त्रणका लागि गाईभैँसीलाई खोरेत, चरचरे, भ्यागुतेलगायत रोगको खोप लगाइएको केन्द्र प्रमुख डा श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार सङ्घ सरकारको पशुसेवा विभाग र गण्डकी प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालयको सहयोगमा खोप लगाइएको हो ।

“पशुधन सुरक्षाका लागि किसानका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्याङ्क सङ्कलन, खोपकर्ता नियुक्ति र अगुवा किसानसँग अभिमुखीकरण गरी प्राविधिकलाई परिचालन गरेर खोप लगाइएको हो”, उहाँले भन्नुभयो, “कतिपय पालिकाले नै खोप कार्यक्रम सञ्चालन गरिरहेकाले खोप उपलब्ध गराइएको छ ।”

त्यस्तै पूर्णखोप अभियानका लागि ६६ जना खोपकर्ता परिचालन गरिएको केन्द्र प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । किसानको फार्म र गोठमा पुगेर बाख्रालाई पिपिआर, गाईभैँसीलाई खारेत, भ्यागुते, चरचरे, सुगुरबङगुरलाई स्वाइन फिवर र कुकुरलाई रेबिज रोगविरुद्धको खोप निःशुल्क लगाउने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार पशुलाई महामारीजन्य रोगबाट बचाउन खोप प्रभावकारी उपाय नै खोप भएकाले अभियान सञ्चालन गरिएको हो ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यलाई पार्ने नकारात्मक प्रभावबाट बचाउन र पशुजन्य रोगको उपचार र नियन्त्रण गर्दा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बनेको विज्ञ केन्द्रले जनाएको छ । गण्डकी प्रदेश सरकारले सङ्क्रामक रोग निर्मूल पार्ने योजनाअनुसार प्रदेशलाई नै पूर्ण खोपयुक्त बनाउन ११ जिल्लामा अभियान सञ्चालनअन्तर्गत तनहुँमा खोप लगाइएको हो ।

रोगको कारणबाट हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि सबै पालिकाका पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भइरहेको छ । गण्डकी प्रदेश सरकारले पशुमा सङ्क्रामक रोग उन्मूलन गरी गुणस्तरीय पशुजन्य उत्पादन सुनिश्चित गर्ने उद्देश्यले आगामी तीन वर्षभित्रमा प्रदेशका ८५ वटै पालिकामा पूर्णखोप कार्यक्रम कार्यान्वयनको योजनाअनुसार तनहुँमा चालु आर्थिक वर्षमा कार्यक्रम सुरु गरिएको जनाइएको छ । केन्द्रका अनुसार विज्ञ केन्द्रका प्राविधिक कर्मचारी कृषकका पशु फार्म तथा गोठमा पुगेर गाई, भैँसी, बाख्रा तथा भेडाको तथ्याङ्क सङ्कलन गरेपछि खोप लगाउने कार्य जारी छ ।

“महामारीजन्य सङ्क्रामक रोगबाट बचाउन र कृषकले पशुपक्षीमा गरेको लगानीको सुरक्षा र सम्भावित क्षतिलाई नियन्त्रण गर्न पशुमा खोप लगाउनु आवश्यक छ”, केन्द्र प्रमुख श्रेष्ठले भन्नुभयो, “खोप कार्यक्रममा गाईभैँसीलाई खोरेत र भेडाबाख्रालाई पिपिआर, बङ्गुरलाई हैजा र कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।” सुरुआतमा सबै पालिकामा गणक पुगेर पशुवस्तुको यकिन तथ्याङ्क सङ्कलन गर्ने काम सकिएको छ । दोस्रो चरणमा आवश्यक खोप व्यवस्था गरी किसानको घरगोठमै पुगेर खोपको लगाउने काम भइरहेको केन्द्रले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?