बिक्री हुन छाडे माटाका भाँडा

बागलुङ:बागलुङको निसीखोला गाउँपालिकाका शिरबहादुर सुनार १५ वर्षभन्दा बढी समय माटाको भाँडा व्यवसाय गर्नुभयो । पछिल्लो समय आयातित धातुका भाँडाले माटाका सामग्री विस्थापित हुँदै गएपछि उहाँले यो व्यवसायनै छोड्नुभयो । उहाँले भन्नुभयो ,“अहिले त जताततै प्लास्टिक, इस्टिल, सिल्टीका भाँडा पाइन्छ, उतिबेला माटोका बाहेक अरु भाँडा कम पाइन्थे, त्यही भएर पनि व्यापार राम्रो हुन्थ्यो, तर अहिले बिक्री हुनै छोड्यो ।”
बजारबाट विभिन्न भाँडावर्तन खरिद गर्ने र गाउँ–गाउँमा पुगरे व्यापार गर्ने उहाँ अहिले घरधन्दामै व्यस्त हुनुहुन्छ ।

एक दशक अगाडिसम्म बागलुङका बजार र ग्रामीण क्षेत्रमा माटाका भाँडा प्रसस्त पाइने भए पनि अहिले निकै कम भएको उहाँको भनाइ छ । यही व्यवसायबाट आफ्नो छोराछोरी पढाउने र परिवार चलाउने गरे पनि माटाका भाँडाको माग निकै कम हुने र व्यापार हुन छोडेपछि व्यवसायबाट अलग्निुपरेको उहाँले बताउनुभयो ।

काठमाडौँ, भक्तपुर र चितवनदेखि खरिद गरेर भाँडा बिक्री गर्ने उहाँले व्यापार नभएपछि लाखौँको नोक्सान ब्यहोर्नुपरेको दुखेसो पोख्नुभयो ।

उहाँले भन्नुभयो, “पहिले गाउँमा रक्सी पार्ने हाँडी, घैँटो र पैसा जम्मा गर्ने खुत्रुकेको माग निकै आउने गथ्र्यो, एकै पटकमा दुई÷तीन लाखको सामान खरिद गरेर बेच्ने गर्थे, सुरुको १० वर्ष राम्रो व्यापार भयो, घर बारी जोडे तर पछिल्लो पाँच वर्ष व्यापार निकै कम भयो, खरिद गरेको पैसा पनि नउठेपछि व्यापार गर्न छोडे, अहिले छोराछोरी हुर्किए, उनीहरुले आफ्नो धन्दा गर्न छन्, म बुढो घरको काम गरेर बस्छु, माटोका भाँडा अहिले हराउँदै गए, प्रयोग पनि हुन छोडे ।”

सुनारले बाहिरबाट आउने धातु र प्लास्टिकका भाँडामा राज्यले रोक लगाउन सके मात्रै माटाका भाँडाको प्रयोग बढ्ने बताउनुभयो । आफ्ना बाउबाजेका पालमा धातुका सामान निकै कम पाइने हुँदा माटाकै भाँडा बढी प्रयोग हुने गरेको उहाँको भनाइ छ । बागलुङ नगरपालिका–२ का टीकाबहादुर बोसेलले २५ वर्ष माटाका भाँडा बेच्ने काम गर्नुभयो । अहिले यो व्यवसाय उहाँकी छोरी ३६ वर्षीया सुमित्रा बोसेलले सञ्चालन गर्नुभएको छ । बीऔँ वर्ष व्यवसाय गर्दा टीकाबहादुरले राम्रो आम्दानी गर्नुहुन्थ्यो । तर अहिले सुमित्राले निकै कम भएको सुनाउनुभयो ।

पाँच वर्षदेखि माटाको भाँडा व्यवसाय सञ्चालन गर्नुभएकी बोसेलले मासिक रु १०÷१२ हजार आम्दानी गर्न पनि गाह्रो हुने गरेको उहाँले गुनासो गर्नुभयो । सुमित्राले साँघुरो पसलमा हाँडी, घैटो, गमला, खुत्रुकेलगायत विभिन्न थरीका माटोका सामान राख्नुभएको छ । ती भाँडासँगै प्लास्टिकका गमला, बाल्टी, खुत्रुकेलगायतका सामान पनि छेउमै छन् । माटाको भाँडा बिक्री नभएपछि प्लास्टिकका भाँडा पनि राखेको उहाँले सुनाउनुभयो । माटाको भाँडा बकेचेर दिनभरिमा रु पाँच सयको कमाइ गर्न पनि नसकिने बताउनुहुन्छ । अहिले भाँडा बेचेर परिवार चलाउन सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

“दश वर्ष अगाडिसम्म राम्रो व्यापार हुन्थ्यो, बाबाआमाले व्यवसाय गर्ने बेला महिनामै ४० हजारभन्दा बढी आम्दानी गर्नुहुन्थ्यो, अहिले त्यो अवस्था छैन, कहिलेकाहीँ दियो बिक्री हुन्छ ”, उहाँले भन्नुभयो, “अहिले त तामा, तिपल, फलाम र रबरका धेरै किसिमका भाँडा आए, त्यसले गर्दा माटाका भाँडा व्यापार ठप्पजस्तै भएका छन् ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?