रामपुरका किसानलाई अनुदानमा धानको बीउ

धानको समर्थन मूल्य

रामपुर (पाल्पा):पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो ।

नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिनुभयो । अनुदानमा बीउ पाएपछि किसान खुसी भएका छन् । बजारका एग्रोभेटमा महँगो मूल्य तिरेर बीउ खरिद गर्न बाध्य किसानलाई कम मूल्यमा अनुदानमा बीउ पाउँदा राहत पुगेको छ ।

स्थानीय शारदा रेग्मी भन्नुुहुन्छ–“दोब्बर तेब्बर मूल्य तिरेर बाहिरबाट खरिद गर्नुपरेको थियो, नगरपालिकाले ५० प्रतिशत अनुदानमा बीउ उपलब्ध गराएको छ, यसबाट बीउ खरिदमा हामीलाई आर्थिक भार परेन ।”

यस वर्ष २० टन धानको बीउ वितरण गरिएको नगरपालिकाको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउनुहुन्छ । उहाँका अनुसार वितरित धानमध्ये साँवा मन्सुली पाँच हजार छ सय किलो, रामधान एक हजार ९१ किलो र सावित्री धान १३ हजार छ सय ४५ किलो नगरका एक हजार ४१ किसानलाई वितरण गरिएको छ ।

नगरपालिकाले वितरण गरेको धानमध्ये सावित्री प्रतिकिलो रु ६० तथा साँवा मन्सुली र रामधान जातको धान प्रतिकिलो रु ६५ मूल्य पर्छ । धान वितरणका लागि नगरपालिकाले रु छ लाख रकम विनियोजन गरेको थियो । बाहिर बजारका एग्रोभेटमा प्रतिकिलो रु ९० देखि रु एक सय दशसम्ममा किसानले बीउ किन्ने गरेका छन् । रामपुर नगरपालिकाभित्र करिब एक हजार आठ सय हेक्टर धान खेती सिञ्चित जमिन छ ।

किसानको सहजता, कृषि शाखामा कर्मचारी कम, व्यवस्थापनलाई सजिलो बनाउने नगरपालिकाले एकहप्ते सूचना निकालेर किसान एग्रोभेटमार्फत सम्झौता गरी बीउ वितरण कार्य गरेको प्रमुख प्रशासकीय अधिकृत न्यौपाने बताउनुहुन्छ । अघिल्ला वर्षमा नगरपालिकाले कृषि शाखामार्फत एकै पटक किसानलाई बोलाएर बीउ वितरण गर्ने गथ्र्यो । एकै पटक सबै किसान आउन नभ्याउने भएकाले सजिलो बनाउन यसवर्ष एग्रोभेटलाई जिम्मेवारी दिइएको हो ।

कृषिजन्य उत्पादन र प्रवद्र्धनका लागि नगरपालिकाले उन्नत बीउबिजन, विभिन्न प्रविधि वितरण, तालिम, गोष्ठी, अनुदानजस्ता कार्यक्रम गरिरहेको नगर प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । “कृषि तथा पशुपालन क्षेत्रमा केही नयाँ उद्यम, व्यावसाय गर्छु भनेर आउने किसानलाई नगर सरकारले सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “उत्पादितउपजको बजारीकरणको जिम्मेवारी लिनेछ, उत्पादन वृद्धिमा किसानले चासो दिनुप¥यो” ।

नगरपालिकाले कृषि तथा पशु उद्यम गर्नेलाई युवा स्वरोजगार कार्यक्रम सञ्चालन गरी रु ३० लाखसम्म दुई वर्षका लागि व्याज अनुदान दिने गरेको नगर प्रमुख थापाले बताउनुभयो । पछिल्ला वर्षमा रामपुरमा पक्की कुलो व्यवस्थापन भएपछि धान लगाउने क्षेत्रफल बढ्दै गएको छ । सिँचाइको सुविधा भएकाले धान उत्पादनमा क्रमिकरुपमा वृद्धि हुँदै गएको छ । रामपुर धान उत्पादनको पकेट क्षेत्र हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?