खानेपानीका लागि लहरा खोला धाउँदै ढोडेनीवासी

नवलपुर:सुगम जिल्लाकारुपमा चिनिएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–३ ढोडेनीका बासिन्दा पानीका लागि खोला धाउनु परिरहेको छ । उनीहरु एक गाग्री पानी लिन दुई घण्टा उकालो हिँडेर खोला आउजाउ गर्दैआएका छन् ।

बिहान उज्यालो हुनेबित्तिकै गाग्री बोकेर पानी लिन जानेहरु दुई घण्टा डोकोमा एक गाग्री पानी बोकेर घर फर्किन्छन् । यस क्षेत्रमा सधैँभरि खानेपानीको समस्या रहेको स्थानीय सरस्वती आचार्यले बताउनुभयो ।

“ढोडेनीवासीलाई खानेपानीको असाध्यै समस्या छ, एक गाग्री पानी ल्याउन दुई घण्टा उकाली ओराली गर्नुपर्छ”, ४० वर्षीया आचार्यले भन्नुभयो, “यहाँका सबै घरमा खानेपानीको मिटर जडान गरिएको छ, तर धारोमा पानी आउँदैन ।” पानी बोक्न एक जनाको पूरै दिन बित्ने गरेको उहाँको भनाइ छ ।

खानेपानीको धारामा पानी नआएपछि उनीहरु कालीगण्डकी नजिकै रहेको लहरा खोलाको पानी पिउन बाध्य छन् । ढोडेनीबाट एक किलोमिटरभन्दा टाढा रहेको उक्त खोलामा पानी लिन जाँदा भिरालो भए पनि पानी बोकेर ल्याउँदा उकालो चढ्नुपर्छ । स्थानीय जमुना गुरुङ भन्नुहुन्छ–“खोलाबाट पानी लिएर आउँदा उकालीओराली गर्नुपर्छ, पानी बोकेर आउँदा कतिपटक त लडिन्छ ।” गाग्री बोक्न नसक्नेले झोलामा बोत्तल हालेर पानी ल्याउने गरेका छन् ।

“पानीकै पिरले गाईबस्तु पाल्न सकेकी छैन”, आचार्यले पीडा सुनाउनुभयो ।

खोलाबाट बोकेर ल्याएको पानीले नुहाइधुहाइ गर्न समस्या हुने भएकाले स्थानीयवासी लुगा बोकेरै खोलामा पुग्ने गर्दछन् । बाख्रापालनका लागि राम्रो सम्भावना भएको यस क्षेत्रमा पानीकै समस्याका कारण पशुचौपाया केहीले मात्र पालेका छन् । हुनेखाने र सक्नेले पानीको ट्याङ्कर नै घरमा लिएर आउने गरेका भए पनि नसक्नेले खोलाको पानी पिउन बाध्य छन् ।

ढोडेनी छतिटारमा कुखुरा पाल्दै आउनुभएका विष्णुहरि अधिकारी ट्याङ्करबाट ल्याएर पानी पिउने गरेको बताउनुहुन्छ । “खानेपानीको समस्या आजको होइन, विगतदेखि नै यथावत् छ”, उहाँले भन्नुभयो, “कुखुरालाई नियमित पानी चाहिने हुँदा ट्याङ्करबाट पानी झार्ने गरेको छु, तीन हजार लिटर पानीले चार दिन जति पुग्छ ।”

ढोडेनीका झण्डै एक सय ५० परिवारलाई वर्षभरि नै खानेपानीको समस्या हुन्छ । दुई वर्षअघि प्रदेश सरकारको आर्थिक सहयोगमा केवरा ढाप र जलुकेको पानी ल्याइएको थियो । तर अहिले धारामा पानी आउनै छाडेको छ ।

“चार किलोमिटर परबाट पानीको पाइप जोडर खानेपानी ल्याइयो, अघिल्लो वर्ष मिटर पनि जोड्यौँ, हप्तामा एक दुई पटक मात्रै अलिकति पानी आउँछ”, खानेपानीका लागि जोडिएको मिटर देखाउँदै अधिकारीले भन्नुभयो, “पानी प्रयोग गर्न नपाए पनि हामीले मासिक रु ८० तिर्नुपरेको छ ।”

बर्सेनी माघदेखि जेठ महिनासम्म खानेपानीको हाहाकार नै हुन्छ । गण्डकी प्रदेश सरकारको सहयोगमा कालीगण्डकीमा लिफ्टििङ प्रणालीमार्फत खानेपानी ल्याउने तयारी भइरहेको गैँडाकोट–३ का वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो ।

“लिफ्टिङको काम अघि बढेको पाँच वर्ष भइसक्यो, तर निर्माणमा ढिला हुँदा खानेपानीको समस्या भएको हो”, उहाँले भन्नुभयो, “खानपानीको आयोजना चाँडो निर्माण सम्पन्न गराउन भन्दै पटक–पटक पोखरासम्म धायौँ ।” ठेकेदारले रकम नपाएर काम रोकेको छ । प्रदेश सरकारले पैसा भुक्तानी नगर्दा यहाँका बासिन्दाले पानी पिउन नपाएका हुन् ।

गण्डकी प्रदेश सरकारले सुरु गरेको लिफ्टििङ खानेपानी योजनाको बजेट रु छ करोड ४७ लाख ४५ हजार रहेको छ । कूल बजेटमध्ये रु पाँच करोड १६ लाख ७५ हजार प्रदेश सरकारको तथा रु एक करोड ३० लाख ७० हजार बराबरको श्रमदान गर्ने सहमतिअनुसार आयोजना अगाडि बढेको हो । चालु आर्थिक वर्ष २०७९÷८० मा यस आयोजनाका लागि रु १५ लाख मात्रै बजेट विनियोजन भएको थियो ।

विनियोजित बजेटभन्दा बढी काम निर्माण कम्पनीले गरिसकेकाले उसलाई थप रु २४ लाख भुक्तानी गर्न बाँकी रहेको आयोजना प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार खानेपानी आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । काम सम्पन्न गर्न रु ७८ लाख बजेट आवश्यक पर्छ । यहाँ डेढ किलोमिटर तल कालीडण्डकी नदीबाट लिफ्ट गरेर खानेपानी ल्याइँदैछ । लिफ्ट गरेर ल्याएको पानी सङ्कलनका लागि गाउँको माथिल्लो भागमा डेढ लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण गरिएको छ । यस आयोजनाबाट झण्डै चार सय परिवार लाभान्वित हुने बताइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?