महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम

गोरखा: यहाँको बारपाक सुलिकोट गाउँपालिकाले महिलालाई आत्मनिर्भर बनाउन व्यावसायिक तालिम प्रदान गरेको छ । गाउँपालिकाले स्थानीय स्रोत र साधनको उपयोग गरी महिलालाई उद्यमी बनाउँदै आर्थिक आयआर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले मुढा बुन्ने तालिम प्रदान गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।

गरिबी निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्राविधिक सीप विकास तालिममार्फत महिलाका लागि एकमहिने मुढा बुन्ने तालिम दिइएको उहाँले बताउनुभयो । गाउँपालिका–४ स्थित देवी महिला लद्युउद्यमी समूहमा आबद्ध ११ महिलाले तालिम लिएर व्यावसायिक उद्यम सुरु गरेका अध्यक्ष भट्टको भनाइ छ ।

“तालिम लिएका सबै महिलाले अहिले व्यावसायिकरुपमा मुढा बुन्ने पेसा सुरु गरिसकेका छन्”, उहाँले भन्नुभयो, “तालिममा सिकेका कुरालाई व्यवहारमा लागू गर्नसके आर्थिक आम्दानीका साथै जीविकोपार्जनमा पनि सहज हुन्छ भन्ने कुरा उहाँहरुले थालेको उद्यमबाट पुष्टि भएको छ ।”

समूहले उत्पादन गरेको मुढा प्रतिव्यक्ति रू १० हजारसम्ममा गाउँपालिकाले खरिद गरिदिएको गाउँपालिका अध्यक्ष भट्टले बताउनुभयो । “नव उद्यमीको प्रोत्साहनका लागि समूहले पहिलो चरणमा उत्पादन गरेको मुढा पालिकाले खरिद गरेको छ”, उहाँले भन्नुभयो, “एघार जनाको समूहलाई प्रतिव्यक्ति रू १० हजार पर्ने गरी सोही बराबरको मुढा खरिद गरिएको हो ।”

समूहमा आबद्ध सबै महिलाले समूहमार्फत मुढा उत्पादन सुरु गरेको समूहकी अध्यक्ष सुनिता गुरुङले बताउनुभयो । तालिमबाट आफूहरुलाई दैनिक आयआर्जनका लागि बाटो खुलेको उहाँको भनाइ थियो । “स्थानीय स्रोत र साधनको प्रयोग गरेर घरमै बसीबसी आम्दानी गर्नसक्ने अवस्था मुढा बुन्ने तालिमले प्रदान गरेको छ”, अध्यक्ष गुरुङले भन्नुभयो, “यसबाट हामी समूहमा आबद्ध महिला उत्साहित भएका छौँ ।” उहाँले उत्पादित सामग्री बजार व्यवस्थापनका लागि समस्या हुनेमा चिन्ता व्यक्त गर्नुभयो ।

गाउँपालिकाले “महिलालाई उद्यमसँग जोड्दै दैनिक आयआर्जन गर्नसक्ने बनाउने काम थालेको छ । महिलाले सीप सिकेर व्यवसाय सुरु गरेसँगै पालिकास्तरमा स्वरोजगारको विकासमा मद्दत पुग्छ”, अध्यक्ष गुरुङले भन्नुभयो । पालिकाले महिलाका लागि उद्यमसँग जोड्ने अन्य उपयोगी तालिम सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

बारपाक सुलिकोट गाउँपालिका पालिकाभित्र युवायुवतीलाई स्वरोजगार बनाउनका लागि प्लम्बिङलगायत अन्य तालिमसमेत प्रदान गर्दै आइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?