मकैका बोट मर्न थालेपछि कृषक चिन्नित

उदयपुर:त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि कृषक चिन्तित बनेका छन् ।

त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के, मोतिगडासहित, बगाहा, श्रीपुर क्षेत्रका खेतका मकैका बोट मर्न थालेपछि आफूहरु चिन्तित बनेको सम्बन्धित क्षेत्रका कृषक बताउँछन् ।

खैराहाका कृषक विष्णु कार्की भन्छन्, “आफ्नो भएको झन्डै एक बिघा जग्गा सबै खेतमा यसपटक मकैबाली लगाएको हुँ, जेठको दोस्रो हप्तादेखि राम्ररी मकैको सुत्ला लाग्न थालेको थियो, तर सुक्खा र खडेरी लागेपछि अहिले पात मर्न थाले, मकैको बोट पात सुकेर सिक्रिक्क परिसकेका छन्, यसपटकको मकैबाली खान नपाइने भयो ।”

पोर्ताहका कृषक देवीलाल चौधरीको पनि गुनासो कार्कीको उस्तै छ । चौधरी भन्नुहुन्छ, “आफ्नो खेतमा लगाएको मकैबाली सुरुमा राम्रो थियो, तर जेठको पहिला हप्तादेखि नै खडेरी पर्न थाल्यो, झनै दिनदिनै सुक्खा खडेरी लाग्न थालेपछि मकैको बोट मर्न थाल्यो, अहिले खेतको अधिकांश मकैका बोटमध्ये ५० प्रतिशत बोट त सुकी नै सके ।” भर्खर सुत्ला लाग्दै गरेको मकैको बोट धमाधम सुक्न थालेपछि लक्ष्मीपुर क्षेत्रका कृषकसमेत चिन्तित बन्न पुगेको छन् ।

लक्ष्मीपुरका छेदीलाल चौधरीका अनुसार मकैको बोट खडेरीले मर्नथालेपछि कतिपय कृषकले बोरिङ र घरको कलको मोटरबाटसमेत खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरेका छन् । यस्तै घरभन्दा टाढा सुक्खा खेतमा मकैखेती गर्नेका मकैका बोट सुकेर नै मर्न थालेको चौधरीले बताउनुभयो ।

जोगिदहका कृषकका अनुसार यस क्षेत्रका खेतमा लगाइएको मकैको बोटमध्ये झन्डै २५ प्रतिशत बोट मर्न थालेको र अझै केही दिन सुक्खा खडेरी नै रहने सम्भावना रहेका कारण यस पटकको मकैबाली उठाउन सक्ने अवस्थामा नरहेका कारण आफूहरु निराश बन्न पुगेको कृषक बताउँछन् ।

गाउँघर नजिक खेतमा लगाइएको मकैबालीलाई कृषकले कल र मोटरबाट खेतमा सिँचाइ गरेर मकैको बोट बचाउने प्रयास गरिरहेका छन् भने सुक्खा ठाउँका खेत तथा गाउँभन्दा टाढाका खेतको मकैको बोट भने मर्न थालेको र बचाउन नसकिने अवस्था रहेको कृषक बताउँछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?