खडेरीपछिको वर्षाले किसानलाई राहत

बलेवा: धान र कोदो रोप्ने समयमा लामो खडेरी परेपछि निराश बनेका किसान दुई दिन यताको वर्षाले खुसी छन् । बागलुङमा शुक्रबारदेखि सामान्यदेखि मध्यम खालको वर्षा भइरहेको छ ।

वर्षासँगै किसानले बेसी खेतमा रोपाइँ थालेका छन् भने बारीमा कोदो रोप्न सुरु भएको छ । बागलुङका उच्च पहाडी क्षेत्रमा ढिलो कोदो रोपाइँ हुने गरेको भए पनि समथर बेँसी क्षेत्रमा जेठको दोस्रो सातादेखि कोदो रोपाइँ सुरु हुने गरेको छ ।

“यही जेठको १५ देखि कोदो र असारको १५ देखि धान रोप्न सुरु गर्ने परम्परा जस्तै थियो तर पछिल्ला केही वर्ष खडेरीका कारण तलमाथि हुन्छ”, जैमिनी नगरपालिका–१ कुश्मिशेराका किसान गुरुप्रसाद शर्माले भन्नुभयो, “यस वर्ष खडेरीले सुक्न थालेको कोदोको बीउले वर्षापछि सास फेरेको छ, अब रोपाइँ हुन्छ ।”

खडेरीले बागलुङमा उत्पादनको हिसाबले पहिलो खाद्यान्न बाली मकैमा क्षति पुगेको छ । यहाँ २० हजार सात सय हेक्टर जमिनमा मकै लगाउने गरिएको छ । शुक्रबारदेखि वर्षा भए पनि जिल्लाभर वर्षा भएको छैन । छिटफुट ठाउँमा अझै वर्षा नभएकाले मकैबाली सुक्न थालेको कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो ।

“खण्डवृष्टि भएको छ, पानी परेको क्षेत्रमा किसान खुसी छन्, केही ठाउँमा अझै पानी नपरेकाले बाली सुक्न थालेको छ”, भट्टराईले भन्नुभयो, “अन्य जिल्लामा जस्तो प्रभाव नपरेको भए पनि उत्पादनमा भने खडेरीले कमी ल्याउने निश्चित छ ।” जिल्लामा सबैभन्दा धेरै खडेरीको प्रभाव अलैँची खेतीमा परेको छ । किसानले पाखो बारीमा लगाएको अलैँची खडेरीका कारण सुक्ने, डडुवा रोग लाग्ने लगायतका समस्या देखिएको उहाँले बताउनुभयो । एक सय हेक्टर जमिनको अलैँची खडेरीले कामै नलाग्ने भएको छ ।

खडेरीका कारण सुक्न थालेका खाद्यान्न बालीमा वर्षा भएपछि राहत मिलेको छ । घोगा लागेका मकै तथा मुखैमा धानचामल निकालेको मकैबाली लामो समयको खडेरीका कारण सुक्न थालेका थिए भने धानको ब्याड तथा कोदोको बीउसमेत सुक्न थालेको थियो । खडेरीका कारण ओइलिएका खाद्यान्न तथा मकैबाली वर्षापछि हरियो देखिएका छन् । खडेरी पछिको वर्षाले यात्रामा समेत राहत मिलेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?