मुगुको सोरुमा खाद्यान्न सङ्कट

लकडाउन लम्बिँदै जाँदा नेपालगञ्जमा अत्यावश्यक वस्तुको मूल्यवृद्धि

मुगु: मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आउनुभयो । बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उहाँ खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आउनुभएको हो ।

“घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ”, नेपालीले भन्नुभयो, “गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन ।”

नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न सोरुकोट आउनुभएको छ । सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन । घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन् ।

“भोकभोकै पैँतला दुखाएर सोरुकोट खाद्यान्न लिन आए”, भीइ गाउँकी पानमती डागरले भन्नुभयो, “एक प्याकेट चामल पाउन पनि सास्ती भयो ।”

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ । गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो । ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन् । केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन् ।

सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका–३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताउनुभयो । सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो । उनीहरुलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ ।

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताउनुभयो । “चामलको कोटा बढाउन काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?