कृषि नै समृद्धिको आधार : कृषिमन्त्री भुसाल

वालिङ:कृषि तथा पशुपन्छीमन्त्री बेदुराम भुसालले कृषि नै समृद्धिको आधार भएको बताउनुभएको छ । स्याङ्जाको भिरकोट–५ पकानस्थित केराबारी कृषक समूहको समन्वयमा आईतवार आयोजित सुन्तला रोपण अभियान कार्यक्रममा उहाँले कृषि, पशु तथा मत्स्यपालनका क्षेत्रबाट मात्रै समृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

कृषि तथा पशुपालनका क्षेत्रमा सामूहिक वा चक्लाबन्दी खेतीमा जानुपर्ने नीति सरकारले अगाडि सारेको मन्त्री भुसालको भनाइ छ । “अब चक्लाबन्दी वा सामूहिक खेती प्रणालीमा जोड दिनुपर्छ भन्ने सरकारले नीति अगाडि ल्याएको छ”, उहाँले भन्नुभयो, “बाँझो जमिनको उपयोग गर्ने वा व्यक्तिका बाँझो रहेका जमिन भाडामा लिएर भए पनि खेती गर्ने नीति सरकारले लिएको छ ।”

बाँझो जमिनको उपयोगका लागि सरकारले नीति तथा कार्यक्रम नै बनाएको उहाँले बताउनुभयो । मन्त्री भुसालले नीति तथा कार्यक्रमको कार्यान्वयनका लागि बजेट विनियोजन भइसकेको बताउनुभयो । अहिले कृषकका लागि बाँदर आतङ्क चुनौतीका रुपमा रहेकाले यसको व्यवस्थापन गर्न सरकार ऐन संशोधन गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

बाँदरको आतङ्क व्यवस्थापन गर्न बाँदर नमर्ने तर तर्साउने गरी विद्युतीय तारबार लगाउन सकिने विकल्प रहेको बताउनुभयो । स्याङ्जा जिल्ला सुन्तला, कफी उत्पादनका दृष्टिले अगाडि रहेकाले आगामी दिनमा अझै व्यवस्थित र सामूहिक ढङ्गबाट खेती प्रणाली अगाडि बढाउनु आवश्यक रहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याङ्जाको आयोजनामा केराबारीमा सामूहिक खेतीको सुरुआत गरिएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?