किसान पलायन भए, ‘ब्रोइलर’ कुखुराको मासु अभाव

कुखुरा र माछाको तस्करी

भरतपुर: नेपालमा ब्रोइलर कुखुराको मासु अभाव भएको छ । किसान कुखुरा पालन व्यवसायबाट पलायन हुनेक्रम बढेसँगै देशभर मासुको अभाव भएको हो । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार ९० प्रतिशत किसानले कुखुरा पाल्न छाडेका छन् ।

बैंकले किसानलाई ऋण नदिँदा किसानले चल्ला र दाना किनेर कुखुरा पाल्न सक्ने अवस्था नरहेको उपाध्यक्ष पोखरेल बताउनुभयो । उहाँले भन्नुभयो,“किसानले गरेको उत्पादनको मूल्य राम्रो छ, तर किसानले चल्ला हाल्नसक्ने अवस्था छैन । तीन चार वर्ष घाटा खाएका किसान फेरि घाटामा परिन्छ कि भन्ने डरले कुखुरा पाल्न सकेका छैनन् ।” बजारको माग अनुसारको उत्पादन नहुँदा देशभर कुखुराको मासुको अभाव भएको उहाँले जानकारी दिनुभयो । “ह्चारी र दाना उद्योगबाट किसानले एक दुई महिनाका लागि उद्यारो पाउने गथ्र्ये, उहाँले भन्नुभयो,“अहिले नगद बिना कारोबार हुनै छाड्यो, त्यस कारण पनि किसानले कुखुरा पाल्न सक्ने अवस्था छैन ।” अहिले व्यावसायिक रुपमा स्थापना गरिएको ठूला फर्मले मात्र कुखुरा पालेको उपाध्यक्ष पोखरेल बताउनुभयो ।

उहाँले सरकारले किसानको मनोवल उच्च बनाउने योजना र कार्यक्रम ल्याउन नसके पोल्ट्री क्षेत्र थप धरासायी बन्ने बताउनुभयो । आर्थिक मन्दिलगायतका कारणले नेपालमा कुखुराको मासु उत्पादन र खपत दुवै घटेको नेपाल कुखुरा व्यवसायी मञ्चका कार्यकारी अधिकृत शिव बरालले जानकारी दिनुभयो ।

दैनिक १० लाख केजी कुखुराको मासु उत्पादन हुने गरेको नेपालमा अहिले घटेर दैनिक ६ लाख केजी मात्र उत्पादन हुने गरेको उहाँको भनाइ छ । उहाँले नेपालमा मासुको उत्पादनसँगै खपत पनि घटेको बताउनुभयो । नेपालमा कुखुरा पाल्ने ३० हजार किसानमध्ये आधा घटेको उहाँले जानकारी दिनुभयो ।

“साना÷ठूला सबै फर्म धरासायी छन्, यो अवस्थामा कहिलेसम्म धानिने हो”,उहाँले भन्नुभयो । नेपाल कुखुरा बजार व्यवसायी सङ्घका अध्यक्ष कृष्णहरि लोहनीले देशभर मासु अभाव रहेको बताउनुभयो । चालीस दिनमा दुई किलो देखि दुई किलो पाँच सय ग्रामसम्म हुने कुखुरा अहिले एक किलो पाँच सय ग्राम मात्र हुने गरेको बताउनुभयो । “गर्मीका कारण पनि यो समयमा कुखुराको वजन राम्रो हुँदैन । वजन राम्रो नहुँदा किसानलाई घाटापर्छ । त्यसकारण पनि किसानले कुखुरा पालेका छैनन्, उहाँले भन्नुभयो,”। नेपालमा भारतबाट पनि लुकाइछुपाइ कुखुरा ल्याउने गरिएको छ । अहिले सिमा क्षेत्रमा कडाइ गरिएका कारण पनि त्यसरी ल्याइने कुखुरा नआएको लोहनीले बताउनुभयो ।

अहिले ब्रोइलर कुखुराको किसानको खोर मूल्य रु दुई सय ८० देखि तीन सय रहेको छ । बजारमा उपभोक्ताले किन्दा चार सय ८० देखि पाँच सयसम्म पर्ने गरेको छ । काठमाडौँ, पोखरालगायतका बजारमा ब्रोइलर कुखुरा खपत गर्ने चितवनलाई आफ्नै जिल्लाको उत्पादनले पुगिरहेको छैन । यहाँ पनि अन्य जिल्लाबाट कुखुरा ल्याउन थालिएको छ । भरतपुरको सिनर्जी मिट सप्लायर्सका सञ्चालक सुमन जोशी एक महिनादेखि कुखुराको अभवा भए पनि पछिल्लो एक सातदेखि झन् धेरै अभाव भएको बतानउनुभयो ।

उहाँले ब्रोइलर कुखुरा नपाउँदा आफूले बिहान पसल खोलेर बेलुका बन्द गर्नुपरेको बताउनुभयो । “दैनिक रुपमा ग्राहक फर्किनुपरेको छ,उहाँले भन्नुभयो, “होटल रेष्टुराँमा पनि मासु पु¥याउन धौधौ भइरहेको छ ।” उहाँले गर्मीको समयमा उत्पादन कम, कुखुराको वजन कम र मृत्युदर बढी हुने गरेको जानकारी दिनुभयो ।

नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसी अण्डा अभाव नभए पनि उत्पादनमा भने कमी आएको जानकारी दिनुभयो । उहाँले लेयर्स कुखुरा पाल्ने धेरै किसान विस्थापित भएको जनाउँदै राज्यले ठोस नीति ल्याउन नसके अझै धेरै किसानका व्यवसाय बन्द हुने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?