दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख: यहाँका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन् ।

विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख भीमबहादुर विष्टल हालसम्म दैलेखका ११ स्थानीय तहका ९० वडामा करिब ७३ हजार पशुमा लम्पी स्किन देखापरेको भन्नुभयो ।

पशुमा उक्त रोग महामारीका रूपमा फैलन थालेपछि सम्बन्धित निकायले चासो दिएका छन् । बर्खाको समयमा गोरु मर्न थालेपछि खेती लगाउन किसानलाई समस्या हुने भएको छ । निमित्त कार्यालय प्रमुख विष्टले सो रोग नियन्त्रणका लागि काम भइरहेको बताउनुभयो । “पशुमा लम्पी स्किन फैलिएपछि कार्यालयले औषधि खरिद गरी स्थानीय तहमा पठाएको छ, सचेतनाका कार्यक्रम सञ्चालन गरेका छौँ, स्थानीय तह टोलटोलमा पशु प्राविधिक खटाएर रोग नियन्त्रणतर्फ लागेका छन्”, विष्टले भन्नुभयो ।

उक्त रोग लागेमा पशुलाई ज्वरो आउने, झोक्राउने, खाना नखाने, दूध घटेर जाने, खटिरा आउने र अन्त्यमा मृत्यु हुने गरेको र किर्ना, भुसाना, झिँगा, लामखुट्टे आदिका माध्यमबाट एउटा पशुबाट अर्कोमा सर्ने हुँदा फैलनेक्रम बढ्दो छ ।

उहाँले भन्नुभयो, “रोगविरुद्धको खोप नहुँदा र प्रभावकारी उपचार नहुँदा थप समस्या भएको हो, हालसम्म प्राप्त जानकारीअनुसार जिल्लामा करिब चार सय ३५ पशु मरेका छन्, रोग नियन्त्रण हुनेक्रम जारी छ, सङ्क्रमण देखिएका पशुलाई अलग्गै राख्ने, सरसफाइ गर्ने र किर्ना, लामखुट्टे र भुसुना नियन्त्रणको उपाय खोज्नुपर्छ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?