‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा:लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा लालमणि अर्यालले जानकारी दिनुभयो ।

रोगको सङ्क्रमण बढ्दै गएपछि रोगको जोखिम न्यूनीकरण लागि नगरपालिकाको वडा नम्बर १३ र १४ मा पर्ने याङकोट क्षेत्रमा गाईभँैसीमा खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । “अहिलेसम्म तीन सय गाईभैँसीमा लम्पी स्किन रोगविरुद्धको खोप लगाई सकिएको छ”, उहाँले भन्नुभयो, “गोरखा जिल्लामा पहिलो पटक लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको यो नै पहिलो पटक हो ।

खोप कार्यक्रम सञ्चालनका लागि बुढीकोटी दुग्ध उत्पादन सहकारी संस्थाले आर्थिक सहयोग गरेको डा अर्यालले बताउनुभयो । लम्पी स्किन रोग लागेपछि पशुबस्तुको दुग्ध उत्पादनमा ह्रास आउने मात्र नभई समयमा उपचार नभए पशुको मृत्युसमेत हुने डा अर्यालको जानकारी दिनुभयो ।

“पशुमा यो रोगको लक्षण देखिने बित्तिकै पशु चिकित्कसँग परामर्स गरी उपचार गर्नुपर्छ”, उहाँले भन्नुभयो, “एक पशुबस्तुबाट अर्को पशुबस्तुमा सर्न नदिन रोग लागेको पशुबस्तुलाई निरोगी पशुबस्तुबाट अलग राखेर उपचार गर्ने व्यवस्था मिलाउन सके रोग सर्नबाट कम गर्न सकिन्छ ।” गोरखा जिल्लाभित्र पाँचभन्दा बढी स्थानीय तहहरुमा लम्पी स्किन रोगको सङ्क्रमण फैलिए सकेको छ ।

जिल्लाको भीमसेन थापा गाउँपालिका, सहिद लखन गाउँपालिका, बारपाक सुलिकोट गाउँपालिका, गण्डकी गाउँपालिका र धार्चे गाउँपालिकामा लम्पी स्किन रोगको सङ्क्रमण फैलिएको पशुसेवा विज्ञकेन्द्र गोरखाले जनाएको छ । लम्पी स्किन रोगका कारण अहिलेसम्म ५८ वटाभन्दा बढी पशुको मृत्यु भइसकेको छ । रोग नियन्त्रणका लागि एक ठाउँबाट अर्को ठाउँमा पशुचौपाय ओसारपसार नगर्न, चरन क्षेत्रमा नलैजान कार्यालयले आग्रह गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?