किसानलाई व्यावसायिक पुष्पखेती तालिम

सयपत्री फूल

चितवन:चितवनको रत्ननगरका किसानलाई व्यावसायिक बनाउन पुष्पखेती तालिम दिइएको छ । रत्ननगर नगरपालिका–९ को आयोजना र पुष्प विकास केन्द्र गोदावरी ललितपुरको प्राविधिक सहयोगमा आइतबार प्रशिक्षण दिइएको हो ।

सहभागी ५१ किसानलाई खेती गर्ने तरिका र बजारीकरणका बारेमा प्रशिक्षण दिइएको थियो । तालिममा किसानलाई माला उन्नसमेत सिकाइएको वडाध्यक्ष अनन्त अधिकारीले जानकारी दिनुभयो । “सयपत्री फूलखेतीमा मात्रै आत्मनिर्भर बन्न सके पनि धेरै पैसा बचत हुन्छ”, उहाँले भन्नुभयो, “वडाले किसानले उत्पादन गरेको फूलको बजारीकरणका लागि पनि सहयोग गर्नेछ ।”

फूल उत्पादन गरी बजारीकरण गरेर आर्थिकरूपमा धेरै किसान सबल भइरहेको उल्लेख गर्दै अब रत्ननगरमा पनि व्यावसायिक फूलखेती विस्तारमा पालिकाले जोड दिएको कृषि शाखा प्रमुख प्रविन लामाले बताउनुभयो । उहाँले धेरै किसान पछिल्लो समय पुष्पखेतीमा आकर्षित भएको बताउनुभयो ।

समुदायमा आधारित चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान बछौलीका अध्यक्ष वसन्त रानाले प्लास्टिकजन्य फूल आयातलाई निरुत्साहित गर्न पुष्पखेती विस्तार अनिवार्य रहेका कारण तालिम महत्त्वपूर्ण भएको बताउनुभयो । उहाँले यस्ता तालिम निरन्तर सञ्चालन हुनुपर्ने बताउनुभयो । तालिमका सहभागीलाई पुष्पविज्ञ सुधीर श्रेष्ठ, वासुसिंह साउद र सुमन्त पोखरेलले प्रशिक्षण दिनुभएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?