व्यावसायिक कालिजपालनतर्फ कृषकको आकर्षण बढ्दै
गल्याङ: व्यावसायिक कालिजपालनतर्फ स्याङ्जाका कृषकको आकर्षण बढ्दै गएको छ । कालिजको मासु र अण्डा अत्यधिक माग हुन थालेपछि कालिजपालनलाई व्यावसायिक रुपमा विस्तार गरिँदै लगिएको हो ।
जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजार लगायतका स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानेले ‘आशिष दाइ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरेर कालिजपालनलाई व्यावसायिक रुप दिनुभएको हो ।
एक वर्षअगाडि दुई सय कालिजका चल्लाबाट व्यवसाय सुरु गर्नुभएका उहाँले हालसम्म १७ लाख लगानी गरिसक्नुभएको छ । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलोे भएकाले माग धेरै छ ।
फार्ममा कालिज र स्थानीय जातका कुखुरासमेत छन् । एक वर्षमा रु चार लाख मूल्य बराबरको कालिज, स्थानीय जातका कुखुरा र अण्डा बिक्री गरिसकेको कृषक न्यौपानेले बताउनुभयो । वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताउनुभएका न्यौपानेले सबै पेसाबाट सफलता प्राप्त गर्न नसकेपछि कालिजपालनतर्फ लागेको बताउनुभयो ।
“सात महिनासम्म कालिज पालनसम्बन्धी अध्ययन र अनुसन्धान गरेपछि कालिज पालन सुरु गरेको हुँ”, उहाँले भन्नुभयो, “अहिले मेरै फार्मका अण्डा वालिङको ह्याचरीमा लगेर चल्ला उत्पादन गर्छु, यो वर्ष आफ्नै लगानीमा ह्याचरी मेसिन राख्ने र पाँच सय चल्ला पुर्याउने योजना छ ।”
“फार्ममा प्रतिकालिज रु २५ सय र अण्डा रु ५० देखि रु एक सयसम्ममा बिक्री हुने गरेको छ”, उहाँले थप्नुभयो, “सामाजिक सञ्जालमा देखेर स्याङ्जा, गुल्मी, पर्वतबाट कालिज किन्न उहाँकोमा ग्राहक आउने गरेका छन् ।” वैदेशिक रोजगारबाट फर्किनुभएकी न्यौपानेकी जीवनसङ्गीनी मिनाक्सीले व्यवसायमा उहाँलाई सघाइरहनुभएको छ ।
कालीगण्डकी गाउँपालिका–५ का वडाध्यक्ष रुकबहादुर थापाले हालसम्म कुनै पनि कृषकलाई राहतलगायत अनुदानका कार्यक्रम दिन नसकिएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेसनलको साझेदारीमा वडाका कृषकका हितमा काम गर्न लागिएको बताउनुभयो । साझेदारी कार्यक्रमअन्तर्गत कालिजलगायत अन्य पशुपक्षी पालन गर्ने कृषकको व्यवसाय विस्तारका लागि सहयोग गरिने स्पष्ट पार्नुभयो ।
