कालिज पालनमा रमाउँदै कृषक

सुन्दरहरैँचा:मोरङ मिक्लाजुङ गाउँपालिका–६ का कृषक सन्तोष बोहोराले व्यावसायिकरूपमा कालिजपालन गरेर मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । आफ्नै देशमा केही कृषिकर्म गर्ने सोचले २९ वर्षीय सन्तोषले हिमालयन वाइल्ड लाइफ एग्रो कम्पनी प्रालि दर्ता गरी व्यावसायिकरूपमा कालिजपालन गर्नुभएको हो ।

कालिजपालनबाट अहिले खर्च कटाएर मासिकरूपमा एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएको सन्तोषले बताउनुभयो । उहाँले कालिजका लागि सम्भावना तथा बजारको अवस्था राम्रो रहेको उल्लेख गर्नुभयो ।

सुरूमा ब्रोइलर कुखुरापालन गर्नुभएका सन्तोषले यसबाट राम्रो आम्दानी हुन नसकेपछि बैंकको जागिर छाडेर रू १० लाख ऋण लगानीबाट कालिजपालन गर्नुभएको थियो । एक सय ५० वटा कालिजबाट सुरू गरेको फार्ममा अहिले एक हजार पाँच सय कालिज छन् । सन्तोषले भन्नुभयो, “आम्दानीको हिसाबले राम्रो रहेको कालिजपालन व्यवसायको बजारीकरणमा कुनै समस्या छैन ।”

नेपाल सरकारले व्यावसायिक कालिजपालनलाई अनुमति दिएको चाल पाएर कृषिमा केही राम्रो काम गर्छु भन्ने सोचले अगाडि बढेको सन्तोषले उल्लेख गर्नुभयो । व्यावसायिकरूपमा विगत चार वर्षदेखि कालिजपालन गर्दै आउनुभएका सन्तोषले आफ्नै फार्ममा ह्याचिङ गरी चल्ला उत्पादन गरेर बजारमा अण्डा तथा मासु पनि बिक्रीवितरण गर्दै आउनुभएको छ ।

“स्थानीय बजारका साथै विराटनगर, झापा, तेह्रथुम, ताप्लेजुङ, धरान धनकुटालगायत कोशी प्रदेशभरि कालिजको बजार विस्तार गर्न सफल भएको छु”, उहाँले भन्नुभयो, “फार्ममा स्थानीय केही कामदारले रोजगारीसमेत पाउन सफल भएका छन् । एशियन मुलुकबाहेक युरोपको विभिन्न देशमा अहिले व्यावसायिक कालिजपालन फस्टाएको छ ।”

कालिजपालनका लागि खासै तापक्रमले प्रभाव पार्न नसक्ने उहाँको अनुभव रहेको छ । “जहाँको मौसममा चल्ला उत्पादन गरियो त्यही मौसम तथा घामपानीमा कालिज पाल्दा उपयुक्त हुन्छ”, उहाँ बताउनुहुन्छ । कालिजपालन फरक व्यवसाय भएकाले यसबाट आत्मसन्तुष्टी मिल्नुका साथै आम्दानीको स्रोत बलियो बनेको उहाँले उल्लेख गर्नुभयो ।

“कालिज आठ/नौ महिनामा बिक्री योग्य हुनेछ । स्वास्थ्य कालिजको तौल दुई केजीसम्म हुन्छ, पोथीले नौ महिना पुगेपछि अन्डा पार्न थाल्छ”, सन्तोषले भन्नुभयो, “बजारमा कालिज होलसेल भालेपोथी जोडीको रु चार हजारदेखि खुद्रा भाले जोडीको रु पाँच हजार तथा अन्डा रू ८० सम्ममा बिक्री हुन्छ ।” आफ्नो पाँच कट्ठा जग्गामा कालिजपालन गरेको जानकारी दिँदै उहाँले फार्ममा रू ४० लाख लगानी गरी सुरूआतको ऋण यसैबाट तिर्न सफल बताउनुभयो । विदेश जाँदाको लगानी तथा मेहनत युवाले स्वदेशमै गर्दा राम्रो हुने बताउनुहुन्छ उहाँ ।

नेपालमा पछिल्ला दिनमा कुखुरा, हाँस, अष्ट्रिजलगायतका पक्षीको पालन गरिने पुरानै व्यवसाय भएको भए पनि कालिजलाई नौलो व्यवसाय मानिन्छ । नयाँ व्यवसायका रूपमा युवा किसानले व्यावसायिक कालिजपालन गरेर आफ्नो ठाउँलाई नै चिनाउने काम गरेको मिक्लाजुङ–६ का वडाध्यक्ष खडीबहादुर मगरले सुनाउनुभयो । उहाँले इच्छाशक्ति भए जुनसुकै राम्रो काम र व्यवसाय गरेर स्वदेशमै आम्दानी गर्न सकिने जनाउँदै सन्तोषलाई व्यावसायिक कालिजपालनका लागि हरप्रकारको सहयोग गर्न आफू तयार रहेको बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?