बङ्गुरपालनमा रमाउँदै वडाध्यक्ष सिंजाली

गल्याङ:स्याङ्जाको गल्याङ नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर सिंजालीको बिहान र साँझको समय हिलो, धुलो र गोबरसँग खेलेर बित्ने गरेको छ । सिंजाली बिहानै बङ्गुरका लागि कुँडोे पकाउनुहुन्छ । कुँडो पाक्दै गर्दा उहाँ बङ्गुरको गोबर सफा गर्न थाल्नुहुन्छ । अनी पालैपालो बङ्गुरका माउ र बच्चालाई पाकेकोे कुँडो खुवाउनुहुन्छ ।

सिंजालीले बङ्गुरको स्यहारसुसार गरेर सात आठ बजेभित्र नै सकाउनुहुन्छ । वडा कार्यालय जानुपर्ने भएकाले यो समयमा बङ्गुरको स्यहार गरेर सक्काउनु उहाँको बाध्यता हो । समय भएपछि सारा बङ्गुर स्याहार्ने जिम्मा श्रीमती गङ्गारानालाई दिएर उहाँ कार्यालयतिर हानिनुहुन्छ । कार्यालयबाट साँझ अबेर फर्के पनि खोरमा रहेका बङ्गुर र पाठापाठीको अवस्था हरेर मात्र दलबहादुर अन्य काममा लाग्नुहुन्छ ।

सिंजालीले तीन वर्षदेखि आफ्नै गाउँ बज्रेमा रजनी कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिकरुपमा बङ्गुरपालन गर्दै आउनुभएको छ । वार्षिक रू १४ लाख ४० हजार बराबरको मासु र बङ्गुरका पाठापाठी बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।

“एक महिनामा १८ देखि २० बङ्गुरका पाठापाठी जन्मिन्छन्”, सिंजालीले भन्नुभयो, “बङ्गुरको पाठापाठी रू छ हजारमा र वयस्क तथा उत्पादन दिन छोडेका बङ्गुर तौल हेरेर बिक्री गर्ने गरेको छु ।” उत्पादित मासु गल्याङ नगरपालिकाभित्र नै खपत हुने गरेको उहाँले बताउनुभयो ।

“व्यावसाय गरेर आर्थिकरुपमा आत्मनिर्भर बनाउन यो काम गरेको हुँ”, सिंजालीले भन्नुभयोे, “यो व्यवसायले परिवारलाई आवश्यक खर्च धानिएको छ, फालिएका अन्नपातको समेत सदुपयोग भएको छ ।” गल्याङको हावापानी बङ्गुरपालनका लागि उपयुक्त भएको उहाँको भनाइ छ ।

सिंजालीकी जीवनसङ्गिनी गङ्गारानाले श्रीमान्को जाँगर र पौरख देखेर आफूलाई गौरव महसुस हुने गरेको बताउनुभयो । “उहाँ आइपरेका सबै काम झर्को नमानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।

गल्याङ नगरपालिकाका पशुशाखा प्रमुख सुशील अर्यालले गल्याङमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकाले बजारीकरणको समस्या नभएको बताउनुभयो । नगरपालिकाले कृषकलाई समयमा निःशुल्क प्राविधिक सेवा, उपचार, बीउबिजन, निःशुल्क पशु बीमा, फार्म सुधार कार्यक्रमअन्तर्गत अनुदान उपलब्ध गराएका कारण कृषक पशुपालनतर्फ आकर्षित हुँदै गएका उहाँको भनाइ छ ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments