‘लम्पी स्किन’ का कारण म्याग्दीको चीज उद्योग बन्द

चिज उत्पादन

गलेश्वर:हिमाली जिल्ला म्याग्दीमा ‘लम्पी स्किन’ बाट एक हजार छ सय ६९ गाईगोरु र भैँसी बिरामी परेपछि यहाँ सञ्चालित चीज उद्योग बन्द गरिएको छ ।

पछिल्लो पटक अन्नपूर्ण गाउँपालिकामा यो रोग तीव्र रुपमा फैलिएको छ । गाई भैँसी बिरामी भएकाले यस क्षेत्रमा सञ्चालित हिमालयन चीज उद्योग बन्द गर्नुपरेको स्थानीय टेकबहादुर खड्काले बताउनुभयो ।

उहाँका अनुसार गोरु बिरामी परेका र मरेका कारण मुख्य खाद्यबाली धान रोपाइँ प्रभावित भएको छ । गाई बिरामी भएपछि घारमा सञ्चालित चीज उद्योग पनि बन्द भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु सेवा प्राविधिक गणेश रिजालले जिल्लाका ६ वटै स्थानीय तहमा लम्पी स्किन फैलिएको बताउनुभयो ।

गाई, गोरु, बाच्छा र बाच्छीमा देखिएको यो रोग पछिल्लो समय मङ्गला गाउँपालिकामा एक वटा भैँसीमा पनि लम्पी स्कीन भेटिएको उहाँले जानकारी दिनुभयो । केन्द्रको तथ्याङ्कअनुसार, बेनी नगरपालिकामा ८१, मङ्गला गाउँपालिकामा ५०, मालिकामा ४३, धवलागिरीमा एक सय ५४, रघुगङ्गामा चार सय ६१ र अन्नपूर्णमा आठ सय ८० पशुमा लम्की स्किन देखिएको छ ।

लम्पी स्किनबाट बेनीमा नौ, मालिकामा चार, धवलागिरीमा चार, रघुगङ्गामा २९ र अन्नपूर्णमा ७४ पशु मरेका छन् । १३ वटा बाच्छाबाच्छी, ३६ वटा गाई, ७१ वटा गोरु मरेका केन्द्रले जनाएको छ । म्याग्दीमा लम्पी स्किन देखिएकामध्ये ७.१९ प्रतिशत पशु मरेका छन् । विसं २०७९ चैत १३ गते रघुगङ्गा गाउँपालिकामा पहिलो पटक यो रोग देखिएको थियो ।

ज्वरो आउने र शरीरमा फोका देखापर्ने, पछि झोक्राउँदै जाने, घाँस, खोले नखाने र अन्त्यमा मर्ने गरेका छन् । यो रोग हावाका माध्यमबाट सर्ने बताइएको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको लम्पी स्किनबाट बिरामी भएका पशुलाई खुवाउने एन्टिबायोटिक औषधि स्थानीय तहहरुलाई उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुख रामकृष्ण सुवेदीले बताउनुभयो ।

Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments