बुटवलमा किसानलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याइने

लुम्बिनी:बुटवल उपमहानगरपालिका–१५ उजेलापुरमा आज धान दिवस तथा रोपाइँ महोत्सव आयोजना गरेको छ । उजेलापुरस्थित भीमकुमारी थारुको खेतमा उपमहानगरपालिकाले बाजागाजासहित रोपाइँ गरेर दिवस मनाइएको हो ।

वडा नं १५ को आयोजना र वडास्तरीय कृषि व्यवसाय प्रवद्र्धन समिति र ज्ञानज्योति टोल विकास संस्थाको समन्वयमा भएको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा नगर प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी, वडाध्यक्ष, महाशाखाका निर्देशकसहित स्थानीयको सहभागिता रहेको थियो ।

नगर प्रमुख पाण्डेयले बुटवलका १२ देखि १९ सम्मका वडामा खेतीयोग्य जमिन रहेको र यी क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा अगाडि बढाइरहेको बताउनुभयो । उहाँले उपमहानगरलाई चाहिने आवश्यक कृषि उत्पादन बुटवलमै तयार गर्ने गरी लगानी गर्ने र किसानलाई प्रोत्साहित गर्ने गरी तयारी गरेको बताउनुभयो । उहाँले बुटवल–१४ मा मकै पकेट क्षेत्र घोषणा गरी कार्यक्रम कार्यान्वयन भएको जनाउँदै आगामी वर्षदेखि तरकारी र धान, गहुँको पकेट क्षेत्र बनाउने गरी तयारी गरेको बताउनुभयो ।

उपप्रमुख अर्यालले बुटवललाई कृषिमा आत्मनिर्भर बनाउने गरी काम भइरहेको बताउनुभयो । उहाँले कृषिबाटै मुलुकको उन्नति हुने जनाउँदै किसानले अझै बढी चासो दिनुपर्ने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले कृषि उत्पादनलाई बढाउनका लागि उपमहानगरले अनुदान र प्रोत्साहनका कार्यक्रम अगाडि सारेको बताउनुभयो । नगर प्रवक्ता तथा वडा नं १५ का अध्यक्ष शिव रानाले आफ्नो वडामा धान दिवस मनाएर नगरकै कृषि क्षेत्रको महत्व बढेको र यसले सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments