रास्कोटमा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य

उन्नत जातको ओखरखेती शुरु

मान्म:कालीकोटको रास्कोट नगरपालिकालमा हरियाली नगर बनाउनका लागि ‘एक घर, एक ओखरको बिरुवा’ अनिवार्य गरिएको छ । हरियाली नगर बनाउनका लागि नगरपालिकाले ‘एक घर, एक ओखर बिरुवा’ रोप्नुपर्ने नीति बनाएको हो ।

नगरपालिकामा खुक्खापन बढ्दै गएकाले ‘एक घर, एक ओखर बिरुवा’ रोपेर हरियाली बनाउने योजना रहेको छ । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा ‘एक घर, एक ओखर बिरुवा’ अनिवार्य रोप्ने नीति लिएको नगर प्रमुख धर्मराज शाहीले बताउनुभयो । “आयआर्जनसँगै हरियाली रास्कोट बनाउनका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका छौँ”, उहाँले भन्नुभयो, “ओखरबाट आम्दानी पनि हुने र हरियाली पनि हुने भएकाले यो कार्यक्रम ल्याएका हौँ ।”

नगरपालिकाभित्रमा तीन हजार छ घरधुरी रहेका र ती सबै घरधुरीमा अनिवार्य ओखरका बिरुवा रोप्नुपर्ने नीति अघि सारिएको नगर उपप्रमुख मनीराज बरालले बताउनुभयो । “हामीले कुनै पनि काम आर्थिक जीविकोपार्जनसँग जोड्न सक्नुपर्छ, त्यसका लागि ‘एक घर, एक ओखर बिरुवा’ कार्यक्रम ल्याएका हौँ”, उहाँले भन्नुभयो, “केबल विकास भनेको सडक, पूर्वाधार, अनुदान मात्रै नभएर नागरिकको आयआर्जनसँग पनि जोड्न सक्नुपर्छ ।”

आगामी आर्थिक वर्षमा नागरिकलाई नगरपालिकाबाट दिने सेवामा नागरिकको घरमा अनिवार्य ओखर रोपेको प्रमाण पेस गर्नुपर्ने र ओखरका बिरुवा नगरपालिकाले वितरण गर्ने निमित्त प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले जानकारी दिनुभयो । “ओखरका बिरुवा नगरपालिकाले अनुदानमा दिनेछ”, उहाँले भन्नुभयो, “नागरिक आफैँले पनि रोप्न सक्नुहुन्छ, तर सबै नागरिकलाई ओखरका बिरुवा दिने योजना बनाएका छौँ ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?