विदेशबाट फर्केर कृषि कर्म गर्नेलाई सघाउँदै पालिका

उन्नत जातका बाख्रा

टीकापुर:कैलालीको टीकापुर विशालनगरका दानबहादुर विक रोजगारीका सिलसिलामा आठ वर्ष मलेसिया बस्नुभयो । मलेसियाको बसाइ सकेर स्वदेश फर्किनुभएका दानबहादुर आजभोलि कृषि कर्म गरिरहनुभएको छ ।

कोरोना महामारी फैलिएपछि स्वदेश फर्किएका विक कृषि कर्ममा पनि जीवन सहज नभएको बताउनुहुन्छ । “आर्थिक अवस्था कमजोर थियो, केही कमाउ, व्यवस्थित बनौँ भनी विदेश गए”, दानबहादुरले भन्नुभयो, “मलेसिया हुँदा कोरोना महामारी फैलियो, महामारी फैलिएपछि कमाइ नहुँदा स्वदेश फर्किए ।”

स्वदेश फर्किएपछि केही समय बेरोजगार बसेका दानबहादुरले आजभोलि आफ्नै बारीमा तरकारी खेती थाल्नुभएको छ । “तरकारी खेती गर्न थालेको छु, यही केही गरौँ र जीवन चलाउ भन्ने सोचेको छु”, उहाँले भन्नुभयो, “खेती व्यावसायिक रुपमा गर्न सरकारले बीउ, मल, सिँचाइमा सहयोग गरेको भए सजिलो हुन्थ्यो ।”

टीकापुरकै बलबहादुर विक पनि मलेसियामा रोजगारी गरेर स्वदेश फर्कनुभएको छ । चार वर्ष मलेसिया बसेर फर्किएका बलबहादुर अब स्वदेशमै बाख्रापालन व्यवसाय गर्ने सोचमा हुनुहुन्छ । उहाँ बाख्रापालन व्यवसायका लागि स्थानीय सरकारले सहयोग गरेको भए सहज हुने बताउनुहुन्छ ।

“आफ्नै देशमा केही गरौँ भनेको वातावरण नै छैन, उन्नत जातका बाख्रा, आधुनिक दानापानी, खोरजस्ता आवश्यक कुरामा सरकारले सघाएको भए हुन्थ्यो”, उहाँ भन्नुहुन्छ, “विदेशमा कमाएर घर गुजारा मात्रै चल्यो, अहिले लगानी गर्ने रकम पनि छैन, सहयोग पाएको भए व्यवसायी बन्न सकिन्थ्यो ।”

दक्षिण कोरियामा १० वर्ष रोजगारी गरेर स्वदेश फर्कनुभएका देवेन्द्रकुमार रावल स्वदेशमा फर्केर व्यापार गरिरहनुभएको छ । विदेशमा मोटर कम्पनीमा काम गर्नुभएका उहाँले सिकेको सीपअनुसारको व्यापार टीकापुरमा नभएपछि पुराना मोटरसाइकल मर्मत तथा खरिदबिक्रीको व्यवसाय सुरु गर्नुभएको छ ।

“विदेशमा ठूला–ठूला मोटर कम्पनीमा काम गरे, त्यहाँ गरेको काम यहाँ पाउँदैन, त्यसैले केही काम गरौँ भनी व्यवसाय सुरु गरेको छु”, उहाँले भन्नुभयो, “सरकारले पनि कृषि कर्म गर्नेलाई सघाउने रहेछ, हामीलाई खासै सहयोग छैन ।” तीन वर्षअघि व्यवसाय सुरु गर्नुभएका उहाँले कोभिडका कारण खासै व्यवसायमा सफलता पाउन सक्नुभएको छैन । अहिले पनि खासै व्यापार नभएको उहाँको भनाइ छ ।

टीकापुर नगरपालिकाले विदेशबाट स्वदेश फर्केकालाई स्वदेशमै स्वरोजगार बनाउने नीति लिएको छ । पालिकाले विदेशबाट फर्केर काम गर्न चाहनेका लागि सघाउने, उनीहरुको सीप सदुपयोग गर्ने र थप सीप दिने नगरप्रमुख रामलाल डगौरा थारू बताउनुहुन्छ । “हामीले विदेशबाट फर्केका, सीप सिकेर आएकाहरुलाई सघाउँछौँ भनी सूचना जारी ग¥यौँ, ४० जनाले निवेदन दिनुभएको छ”, नगरप्रमुख थारूले भन्नुभयो, “अब हामीले कृषि व्यवसाय गर्नेका लागि तालिम दिएर, समूह बनाएर काम गर्नेलाई कृषि औजार, प्राविधिक ज्ञान जस्ता कार्यमा सघाउनेछौँ ।”

टीकापुरका २० हजार बढी नागरिक रोजगारीका लागि विदेशमा छन् । रोगजारीका लागि विदेशमा रहेकाहरु केही वर्ष कमाईपछि स्वदेश फर्कन्छन् । स्वदेश फर्केकाहरु स्वदेशमै केही व्यवसाय तथा रोजगारी गर्न चाहन्छन् । उनीहरुका लागि स्वदेशमा लगानीको वातावरण र सरकारको सहयोग आवश्यक रहेको विदेशबाट फर्केकाहरुको माग छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?