बीउ प्रशोधन केन्द्रलाई अनुदानमा मेसिनरी तथा उपकरण हस्तान्तरण

कञ्चनपुर: शुक्लाफाँटा नगरपालिका–१० स्थित कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रलाई रु ३२ लाख मूल्य बढीका बीउ प्रशोधन गर्नमा प्रयोग हुने मेसिनरी तथा उपकरण हस्तान्तरण गरिएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ कञ्चनपुरले ५० प्रतिशत अनुदानमा मेसिनरी तथा उपकरण खरिद गरी हस्तान्तरण गरेको हो । परियोजना कार्यान्वयन इकाइ कार्यालय कञ्चनपुरका प्रमुख सञ्जु उपाध्याय रिमालका अनुसार मेसिन तथा उपकरणका लागि परियोजनाको रु १६ लाख १० हजार आठ सय २५ अनुदान र केन्द्रले रु १६ लाख १० हजार आठ सय २५ रकम खर्चेका छन् ।

परियोजनाको अनुदान सहयोगमा उपलब्ध मेसिनरी तथा उपकरणमा दुई मेट्रिक टन क्षमताको सिड ग्रेडर, एक दशमलव दुई मेट्रिक टन क्षमताको सिड ट्रिटर, तीन मेट्रिक टन क्षमताको इलिभेटर तीन तथा दुई मेट्रिक टन क्षमताको ग्रेभिटी सेपेरेटर रहेका छन् ।

परियोजना र केन्द्रको आधाआधा लागत साझेदारीमा खरिद गरिएका मेसिन तथा उपकरण हस्तान्तरण गर्नु हँुदै परियोजना कार्यालयका प्रमुख उपाध्यायले हस्तान्तरण गरिएका मेसिन तथा उपकरणको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । “प्राप्त मेसिन तथा उपकरणको प्रयोग गरी न्यूनतम मूल्यमा किसानलाई बीउबिजन उपलब्ध गराउनुपर्छ”, उहाँले भन्नुभयो, “बीउकै लागि किसानले अन्यत्र जानुपर्ने अवस्था आउन दिनुहुँदैन ।”

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख रणबहादुर महराले काम गर्दै जाँदा अनुभव हुँदै जाने भएकाले अनुदानमा आएका मेसिन तथा उपकरणको अधिकतम प्रयोग गरी किसानलाई सेवा दिनुपर्ने बताउनुभयो । “अनुदानमा पाएका मेसिनलाई एक ठाउँमा ल्याएर थन्क्याउने होइन”, उहाँले भन्नुभयो, “किसानलाई बीउबिजन दिन सक्ने वातावरण कायम गरिनुपर्छ ।”

किसानको जीवनस्तर माथि उठाउनका लागि बृहत् योजना ल्याउन लागेको चर्चा गर्नु हुँदै नगरप्रमुख महराले कृषि क्षेत्रमा रोजगारीका अवसर सृजना गरी युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने प्रयत्नमा जुटेको बताउनुभयो ।

कञ्चन कृषि वस्तु उत्पादन सङ्कलन तथा प्रशोधन केन्द्रका सञ्चालक चुडामणि जोशीले ५० प्रतिशत अनुदानमा उपलब्ध भएका मेसिनरी तथा उपकरणको मद्दतले बीउ प्रशोधन गर्ने कार्यमा निकै सहज हुने बताउनुभयो ।

“बीउ छान्ने, उपचार गर्ने, लेबल लगाउने, प्याकेजिङ गर्ने कार्यका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ”, उहाँले भन्नुभयो, “किसानले बीउका अन्यत्र जानु पर्दैन, उचित मूल्यमा केन्द्रबाटै उपलब्ध गराउछौँ ।” केन्द्रले चार वर्षअघि देखि किसानलाई विभिन्न जातका बीउ उपलब्ध गराउँदै आएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments