कृषिका परियोजनाको उपलब्धि ८४ प्रतिशतसम्म प्रगति

बाँदर नियन्त्रण

बलेवा:बागलुङमा कृषिका परियोजना क्षेत्रको उपलब्धि ८४ प्रतिशतसम्म भएको पाइएको छ । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् आर्थिक वर्ष २०७९÷८० मा भएका कामको तथ्याङ्कका आधारमा कृषि क्षेत्रका कार्यक्रमको प्रगति ८४ प्रतिशत देखिएको हो ।

तीनवटै कार्यालयले अधिकांस योजनाको प्रगती ८० देखि ८४ प्रतिशतसम्म भएको प्रतिवेदन तयार गरेका छन् । जिल्लामा कृषि उत्पादन, पशुपालन र अन्य बाली प्रवद्र्धनमा पनि उल्लेख्य प्रगति भएको उल्लेख छ । किसानले भने वार्षिक कार्यक्रमको प्रगती राम्रो देखिए पनि वास्तविक रुपमा कृषि क्षेत्रमा प्रगती हुन नसकेको गुनासो गरेका छन् । उनीहरुले पछिल्लो समय बाँझो जमिन बढ्दै गएको, उत्पादन लागत बढेको, सिँचाइका समस्या बढेका र बजारीकरणमा समेत समस्या भएको गुनासो गरेका थिए ।

“वास्तविक कृषि क्षेत्र घट्दो छ, परियोजनाले बढेको देखाउँछ, के पत्याउने ?”, दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष दीपक गौतमले भन्नुभयो, “जमिन बाँझो बढिरहेको छ, उत्पादकत्व बढाउने गरी कार्यक्रम आएनन् ।” उहाँले दूध उत्पादन बढाउने, बजारीकरण गर्ने जस्ता काममा पनि लगानी बढाउन माग गर्नुभयो ।

बागलुङको जैमिनीका किसान डिल्लीप्रसाद शर्माले कृषि उत्पादन बढाउने किसानको योजना बाँदर आतङ्कले अलपत्र परेको बताउनुभयो । अर्का किसान बालानन्द कँडेलले पनि बाँदर आतङ्कबाट जोगाउने नीति र कार्यक्रम ल्याउन माग गर्नुभयो ।

पछिल्लो समय कृषि क्षेत्रको समस्याका रुपमा बाँदर रहेकाले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने कुरा धेरै नै रहेको जिल्ला समन्वय समितिका प्रमुख अमर थापाको भनाइ थियो । “किसानको उत्पादन लागत बढ्नु राम्रो होइन”, थापाले भन्नुभयो, “उत्पादन भएको वस्तुले बजार पाउनुपर्छ, सुरक्षित हुनुपर्छ भन्नेमा हामी सचेत बन्नुपर्छ ।”

कार्यालयको प्रगति सार्वजनिकिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले उत्पादकत्व बढ्नु र राष्ट्रिय अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान बढाउनु आवश्यक भएको बताउनुभयो । उहाँले उन्नत बीउ, समयमा मल पाउने व्यवस्था र उत्पादनमा आधारिक अनुदान नीति बनाउन सके किसान बढ्ने, उनीहरुले उत्पादनमा जोड दिने अवस्था आउने बताउनुभयो ।

अधिकांस सहभागी किसानले लागत बढेकाले कृषि उत्पादन महँगो भएको गुनासोसमेत गरेका थिए । कृषि कार्यालयले उत्पादन र बजार मूल्य हचुवामा राखिदिँदा किसान मारमा परेको पनि उनीहरुले गुनासो गरेका थिए । भेटेनरी तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख ऋषिराम सापकोटाले व्यावसायिक उत्पादन गर्दा धेरै फसलको मूल्य घट्ने बताउनुभयो ।

साथै उहाँले जिल्लामा दूध उत्पादनको २० प्रतिशत मात्रै बजारमा आएको जनाउँदै अरु घरायसी काममा खर्च भएको बताउनुभयो । घरायसी काममा खर्च भएको दूधको मात्रा बजारीकरण गर्ने र दूधजन्य परिकारमा लगाउन सकियो भने किसानले धेरै आम्दानी गर्न सक्ने बताउनुभयो । कृषि ज्ञान केन्द्र प्रमुख भानुभक्त भट्टराईले धानको उत्पादन बढ्दै गएको, समूह र कृषि फर्मबाट उत्पादन गर्ने क्रम बढेको र त्यसले बजारीकरण समेत भएको बताउनुभयो ।

केन्द्रले विपन्न लक्षित क्षेत्रमा उत्पादनमुखी कार्यक्रम लगेको, मुख्यमन्त्री जलवायुमैत्री कार्यक्रम सञ्चालन भएको, आलु र मकै जोनको क्षेत्र सञ्चालनमा आएको बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख सुजित पौडेलले बाख्रा जोन क्षेत्रको जानकारी दिँदै आधुनिक खोर निर्माणले उत्पादकत्व पनि बढाएको बताउनुभयो । उहाँले पछिल्लो समय बाख्राको उत्पादन बढेको, परियोजनामार्फत् ओखर खेती र स्याउ लगाउने काम भएको पनि जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest

3.1K Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments