कृषकलाई अनुदानमा कृषि एम्बुलेन्स सहयोग

रत्ननगर: चितवनको इच्छाकामना गाउँपालिकाले यहाँका कृषकका लागि अनुदानमा कृषि एम्बुलेन्स प्रदान गरेको छ । इच्छाकामना–२ स्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगत्प्रसाद भुसाल, वडा नं २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतले कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गर्नुभएको हो ।

इच्छाकामनाको पहाडी भेगका कृषकले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पुर्याउन सहज ढुवानीका लागि आर्थिक वर्ष २०७९÷८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराइएको हो । एम्बुलेन्सको लागत ‘भ्याट’सहित रु २५ लाख ३४ हजार नौ सय ९९ रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुसालले जानकारी दिनुभयो ।

उहाँका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले लगानी गरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ । गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानले आफ्नो उत्पादन सहज र सर्वसुलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो । “हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकाले कृषि उत्पादन बजारीकरणका थुप्रै योजना ल्याएका छौँ, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो”, उहाँले भन्नुभयो, “यसले किसानको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पुर्याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यत्तिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौँ ।”

एम्बुलेन्स सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं १ र २ का काउले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसान लाभान्वित हुने जनाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?